२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • रास्वपामा समानुपातिक सूचीको चर्को विरोध, तोसिमा...

रास्वपामा समानुपातिक सूचीको चर्को विरोध, तोसिमा कार्की, रक्षा बम र भावना राउतले उठाए गम्भीर प्रश्न

रास्वपामा समानुपातिक सूचीको चर्को विरोध, तोसिमा कार्की, रक्षा बम र भावना राउतले उठाए गम्भीर प्रश्न

सहर्ष न्युज
बुधवार, पौष १६ २०८२
सहर्ष न्युज
बुधवार, पौष १६ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र समानुपातिक उम्मेदवार सूचीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ। केन्द्रीय सदस्य तथा निवर्तमान सांसद डा. तोसिमा कार्की, जेन जेड अगुवा रक्षा बम र अभियानी भावना राउतलगायत नेताहरूले पार्टीको समानुपातिक सूची र आन्तरिक अभ्यासप्रति खुला रूपमा प्रश्न उठाएका छन्।

    डा. तोसिमा कार्कीले पार्टीभित्र प्राइमरी इलेक्सनको धज्जी उडाइएको टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत कडा असन्तुष्टि जनाएकी छन्। प्राथमिक निर्वाचनमा अग्रस्थानमा रहेकाहरू समानुपातिक सूचीमा पछाडि पारिएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले पार्टी नेतृत्वको व्यवहार पुराना दलभन्दा फरक नदेखिएको बताइन्।

    उनले लेखेकी छन्,
    “पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू सधैँ पोसिसन अफ बेनिफिटमा देखिन्छन्। पार्टीभित्र पदमा पनि बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीको अग्रपंक्तिमा नाम सुरक्षित गर्ने प्रवृत्ति पुराना दलभन्दा फरक देखिएन।”

    डा. कार्कीले पार्टीको प्रमुख जिम्मेवारी सम्हालेकाहरू प्रत्यक्ष निर्वाचन लड्न नडराउनुपर्ने धारणा राख्दै उदाहरणीय नेतृत्वका लागि सबै पदाधिकारी र सचिवालय सदस्यले समानुपातिक सूचीबाट नाम हटाएर प्रत्यक्ष चुनावमा जानुपर्ने बताइन्। साथै समानुपातिक सूचीमा नातावाद र कृपावाद पूर्ण रूपमा निषेध गर्नुपर्ने उनको माग छ।

    यसअघि जेन जेड अगुवा रक्षा बमले पनि समानुपातिक सूचीप्रति गम्भीर असन्तुष्टि जनाएकी थिइन्। मंगलबार सामाजिक सञ्जालमा उनले “समानुपातिक सूची देखेर मन खिन्न भयो” भन्दै पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट २१ जना उम्मेदवार समावेश गरिएको तर सुदूरपश्चिमबाट मात्र दुई जना राखिएकोप्रति आपत्ति जनाइन्।

    रक्षाले संविधानको मर्म स्मरण गराउँदै समानुपातिक प्रणाली सदियौँदेखि पछाडि पारिएका समुदाय र क्षेत्रको प्रतिनिधित्वका लागि ल्याइएको भए पनि अहिले दलहरूले यसलाई सांसद पद वितरणको माध्यम बनाएको आरोप लगाइन्।
    “हिजो हजारौँको बलिदानबाट प्राप्त प्रणालीलाई आज सांसद पद बिक्री केन्द्र र आफ्ना नातेदार भर्ती गर्ने माध्यम बनाइएको छ,” उनले लेखेकी छन्।

    सुदूरपश्चिमप्रति राज्यको निरन्तर उपेक्षाबारे उल्लेख गर्दै उनले भनिन्,
    “मेरो सुदूर अझै पनि सुदूर नै छ। यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ।”

    त्यसैगरी जेन जेड अभियानी भावना राउतले पनि रास्वपाको समानुपातिक सूची नसच्याइए अन्धाधुन्ध समर्थन नगर्ने चेतावनी दिएकी छन्। फेसबुकमा स्ट्याटस लेख्दै उनले प्रत्यक्षतर्फ उम्मेदवार हेरेर भोट हाल्ने तर समानुपातिकतर्फ कुनै पनि पार्टीलाई अन्धसमर्थन नगर्ने स्पष्ट पारेकी छन्।

    “समर्थन गर्नेहरूलाई प्रश्न गर्न र जवाफदेही बनाउन सकिएन भने हामी अन्धभक्त बन्छौँ, र अन्धभक्त हुनु मुलुकलाई धोका दिनु हो,” उनले लेखेकी छन्। रास्वपाले बहुमत ल्याओस् र बालेन प्रधानमन्त्री बनून् भन्ने चाहना भए पनि नैतिक मूल्य साटेर समर्थन गर्न नसक्ने उनको भनाइ छ।

    रास्वपाभित्र अन्य नेताहरूले पनि समानुपातिक सूचीमा नातावाद र कृपावाद हाबी भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। समानुपातिक प्रतिनिधित्वको मर्मअनुसार समावेशी र न्यायपूर्ण सूची नबनेको भन्दै पार्टीभित्रैबाट तीव्र दबाब बढ्दै गएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend