काठमाडौँ : बढुवा समितिको सचिवालयले तीन जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो।
बढुवा समितिको मंगलबार बसेको बैठकको निर्णयअनुसार नेपाल कृषि सेवा, एग्रि इकोनोमी एण्ड मार्केटिङ समूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत बद्रीप्रसाद दाहाललाई बढुवाका लागि सिफारिस गरिएको छ।
त्यसैगरी, नेपाल कृषि सेवा, भेटेरिनरी समूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत डा. प्रज्ञा कोइराला तथा नेपाल वन सेवा, स्वायल एण्ड वाटर कन्जरभेशन समूहअन्तर्गत राजु सापकोटालाई पनि सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सिफारिस भएका उम्मेदवारहरूको बढुवा प्रक्रिया कानुनी प्रावधानअनुसार अगाडि बढाइनेछ।
