२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • आज तमु ल्होसार पर्व मनाइँदै, देशभर...

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

सहर्ष न्युज
मंगलवार, पौष १५ २०८२
सहर्ष न्युज
मंगलवार, पौष १५ २०८२
  • काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिन्छ। गुरुङ समुदायका लागि यो पर्व नयाँ वर्षको सुरुवातका रूपमा विशेष महत्व राख्दछ।

    तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित पर्व मानिन्छ। गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतलगायत जिल्लामा सूर्यको ताप छिटो पुग्ने भएकाले पुस महिनामै यो पर्व मनाइने परम्परा रहेको छ। त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको बसोबास भएका क्षेत्रमा सूर्यको ताप पुग्ने विश्वासका आधारमा माघ र फागुन महिनामा ल्होसार मनाइने गरिन्छ।

    जानकारहरूका अनुसार पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारको विशेष महत्व रहेको छ। यस अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ।

    तमु ल्होसारको अवसरमा राजधानीको टुँडिखेलमा गुरुङ समुदायको आयोजनामा विशेष कार्यक्रम हुँदैछ। कार्यक्रममा गुरुङ समुदायका मानिसहरू परम्परागत तथा सांस्कृतिक भेषभूषामा सजिएर सहभागी हुनेछन्। साथै, गुरुङ समुदायका मौलिक परिकारहरूको विशेष प्रदर्शनी पनि गरिनेछ।

    यसैबीच, आइतबारदेखि टुँडिखेलमा ल्होसार महोत्सव सुरु भइसकेको छ। महोत्सवमा हजारौं सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend