काठमाडौं । पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन डेढ वर्षका लागि कालोसूचीमा परेको छ।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो। ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय एकाइ श्रीमहल ललितपुरको सिफारिसका आधारमा पुस १३ गते उक्त निर्णय भएको कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ। कालोसूचीको अवधि भने सूचना प्रकाशित भएको मिति पुस १४ गतेदेखि लागू हुने जनाइएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कान्छाराम कन्स्ट्रक्सनसँगै चीनको छोङ्गिङ इन्टरनेसनल कन्स्ट्रक्सन कर्पोरेसन पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छ।
यसैगरी नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखराको सिफारिसमा ड्रैगन कन्स्ट्रक्सन प्रालि, धनुषा पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छ। उक्त कम्पनीका मुख्य व्यक्ति बैजनाथ यादव हुन्।
त्यस्तै, रौतामाई गाउँपालिका, उदयपुरको सिफारिसमा सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि, धनुषा र विशाल निर्माण सेवा, सिन्धुपाल्चोक एक–एक वर्षका लागि कालोसूचीमा परेका छन्।
सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति रमेश कुमार सिङ्दान हुन् भने विशाल निर्माण सेवाका मुख्य व्यक्ति श्याम कुमार गलान रहेका छन्।
