२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • क्यासिनो वाल्डोका मुख्य सञ्चालक पक्राउ, क्यासिनो...

क्यासिनो वाल्डोका मुख्य सञ्चालक पक्राउ, क्यासिनो खेलको नाममा ठगी र अवैध कारोबारको आरोप

क्यासिनो वाल्डोका मुख्य सञ्चालक पक्राउ, क्यासिनो खेलको नाममा ठगी र अवैध कारोबारको आरोप

सहर्ष न्युज
आइतवार, पौष १३ २०८२
सहर्ष न्युज
आइतवार, पौष १३ २०८२
  • काठमाडौं । क्यासिनो खेलाउने बहानामा ग्राहकलाई ठगी गरेको तथा प्रतिवन्धित आर्थिक कारोबारमा संलग्न भएको आरोपमा क्यासिनो वाल्डोका मुख्य सञ्चालक पक्राउ परेका छन्।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार फरार रहेका क्यासिनो वाल्डोका सञ्चालक ७५ वर्षीय CHAN MAN CHYING लाई परिसरको टोलीले काठमाडौंबाटै नियन्त्रणमा लिएको हो। उनी ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालन हुँदै आएको क्यासिनो वाल्डोका मुख्य सञ्चालक रहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार क्यासिनो वाल्डोमा इभेन्ट आयोजना गरी तास खेलमा ठगी गर्ने गरिएको खुलेको थियो। विशेष प्रकारका चिप्स जडित तास र आँखामा लगाउने लेन्स प्रयोग गरी खेलाडीहरूलाई झुक्याउने गरिएको अनुसन्धानबाट पत्ता लागेको हो। यसअघि सोही प्रकरणमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे पक्राउ परिसकेका छन्।

    प्रहरीका अनुसार क्यासिनोका नेपाली सञ्चालक विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश भने अझै फरार छन्। चिनियाँ लगानीकर्ता CHAN MAN CHYING पक्राउ परेपछि घटनाको मुख्य योजनाकार पहिचान भएको प्रहरीले जनाएको छ।

    उक्त क्यासिनोमा डिसेम्बर ११ देखि १४ सम्म भारत र नेपालका विभिन्न समूह मिलेर इभेन्ट आयोजना गरिएको थियो। महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गर्नुका साथै चिप जडित तास र विशेष प्रकारका लेन्सको व्यवस्था गरेको प्रहरीको भनाइ छ।

    अनुसन्धानका क्रममा ठगीका लागि भारतबाट ५० प्याकेट म्याग्नेट जडित तास र ४ सय थान विशेष लेन्स खरिद गरी ल्याइएको खुलेको छ। ती लेन्स लगाउँदा तासको दुवै पाटो देखिने भएकाले अन्य खेलाडीलाई ठगी गर्ने स्पष्ट उद्देश्य देखिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार ठगीबाट जितिएको रकममध्ये ९० प्रतिशत इभेन्ट सञ्चालकले र १० प्रतिशत खेलाडीले पाउने सहमति सुरेश महाजन र दिनेश बर्माबीच भएको पनि खुलेको छ।

    पक्राउ परेकाहरूको साथबाट नेपाली र भारतीय मुद्रा, चिप जडित तास, लेन्स, हवाई टिकटलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। क्यासिनो वाल्डोले पनि कानून उल्लंघन गरेको देखिएकाले पर्यटन विभागसँग समन्वय गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend