काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा दरबन्दी भई कलंकीमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लाभ लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भट्टले प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुन भारतबाट ल्याएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी व्यक्तिगत फाइदा लिएको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा भट्टले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली (भारत) बाट जारी भएको देखिने Senior School Certificate Examination–1991 का NAME: CHAKAR DEB BHATT, ROLL NO. 660057 उल्लेखित मार्क्स स्टेटमेन्ट र प्रोभिजनल सर्टिफिकेटसहितका शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा तथा नक्कली भएको पुष्टि भएको आयोगले जनाएको छ।
नक्कली प्रमाणपत्रकै आधारमा उनले मिति २०५० साल फागुन २० गते प्रहरी जवान पदमा नियुक्ति लिई क्रमशः प्रहरी सहायक निरीक्षक पदसम्म पदोन्नति भई नेपाल सरकारबाट निवृत्तिभरण, हैसियत, लाभ तथा सुविधा लिएको पाइएको छ। यसरी उनले भ्रष्टाचारजन्य कसूर गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगले भट्टको उक्त कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कसूर ठहर गर्दै कैद र जरिवाना सजायको मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले प्रेस विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन्।
