काठमाडौँ : गृह मन्त्रालयले गरेको डीआईजी सरुवाप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेपछि डीआईजी जयराज सापकोटालाई प्रहरी प्रधान कार्यालयले कारबाहीस्वरूप नसिहत दिएको छ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभाग, कार्य निर्देशनालय, नक्सालमा दरबन्दी रहेका सापकोटाले कोशी प्रदेशमा रिक्त कार्यालय प्रमुखको सरुवामा अर्का डीआईजी विनोद घिमिरेलाई पठाइएपछि सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए। उक्त टिप्पणी प्रहरी कर्मचारीहरूको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका, नेपाल प्रहरीको आचारसंहिता, सञ्चारमाध्यम (मिडिया) नीति तथा प्रहरी नियमावलीको विपरीत भएको ठहर गर्दै कारबाही गरिएको प्रधान कार्यालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार सापकोटाको टिप्पणी अनुशासनहीन र लापरबाहीपूर्ण देखिएको तथा सन्तोषजनक नभएकाले प्रहरी नियमावली, २०७१ को नियम ११०(क) अनुसार कसूर ठहर गर्दै नियम ११९(१) को देहाय (१०) खण्ड (क) बमोजिम प्राप्त अधिकार प्रयोग गरी नियम १०९(क)(२) अनुसार नसिहत दिइएको हो। यस प्रकारको कारबाहीले उनको वृत्ति विकासमा असर पर्न सक्ने बताइएको छ।
सापकोटा २०५४–१०–२७ मा तत्कालीन राष्ट्रिय गुप्तचर विभागमा अधिकृतका रूपमा भर्ना भई २०५८ मा सेवा परिवर्तन गर्दै नेपाल प्रहरीको इन्स्पेक्टर तालिमका लागि छनोट भएका थिए। प्रहरी वृत्तमा यो समूहलाई ‘नमस्ते टोली’का रूपमा चिनिन्छ। प्रहरीमा समायोजन हुँदा उनका बुबा हरि सापकोटा नेपाली कांग्रेसका तर्फबाट गृह राज्यमन्त्री थिए।
सापकोटाले इच्छा जनाएको कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका डीआईजी विनोद घिमिरे र उनी एकै भर्ना मिति तथा समान प्रक्रियाबाट बढुवा भएका सहकर्मी हुन्। दुवै २०६६–८–२६ मा डीएसपीदेखि डीआईजीसम्म एउटै ब्याचका हुन् र उनीहरूको कार्यकाल २०८४ पुस २७ सम्म रहेको छ।
