२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • राप्रपामा विलय हुँदै राप्रपा नेपाल, चार...

राप्रपामा विलय हुँदै राप्रपा नेपाल, चार वर्षपछि कमल थापा मूलघरमै फर्किए

राप्रपामा विलय हुँदै राप्रपा नेपाल, चार वर्षपछि कमल थापा मूलघरमै फर्किए

सहर्ष न्युज
बिहिवार, पौष १० २०८२
सहर्ष न्युज
बिहिवार, पौष १० २०८२
  • काठमाडौं । राप्रपा फुटाएर राप्रपा नेपाल गठन गरेको करिब चार वर्षपछि कमल थापा फेरि ‘पुरानै घर’ फर्किएका छन् । राप्रपा र राप्रपा नेपालबीच आज पार्टी एकताको लिखित सहमति हुँदै छ ।

    कागजी रुपमा एकता भनिए पनि व्यवहारिक रुपमा कमल थापा र उनको समूह राप्रपामा फर्किएका हुन् । आज अकस्मात् नै सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम बनेको स्रोतको भनाइ छ । राप्रपा नेपालले भोलि बिहान जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक र दिउँसो कार्यसम्पादन समितिको बैठक राखेको थियो । एकताको सहमति जुटेसँगै दुवै बैठक स्थगित गरेको छ ।

    सहमतिका विषयवस्तुहरू केही पनि सार्वजनिक गरिएको छैन । राप्रपा स्रोतले एक बुँदे सहमतिमा हस्ताक्षर हुन सक्ने बताए । मुलुकलाई अहिले बलियो प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको हुँदा पार्टी एकता गर्ने निर्णयमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।

    बर्ताैलाका अनुसार आज सहमति पत्रमा हस्ताक्षर हुनेछ भने १६ पुसमा घोषणासभा आयोजना गरिनेछ । एकताको मोडालिटी दुवै पार्टीको वार्ता टोलीले टुंग्याउने उनले जानकारी दिए ।

    राप्रपाको वार्ता टोलीमा बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान छन् । यस्तै, राप्रपा नेपालको टोलीमा राजीव पराजुली, राजाराम बर्तौला र तेजकुमार कुर्म रहेका छन् ।

    एकतापछि राप्रपामा कमल थापा पूर्वअध्यक्षको हैसियतमा रहने तय छ । राप्रपाको विधान अनुसार पूर्वअध्यक्ष पार्टीको कार्यसम्पादन समितिदेखि सबै केन्द्रीय समितिहरूमा पदेन सदस्य रहन्छन् । त्यसबाहेक अन्य नेताहरूको पदीय मिलानबारे टुंगो लाग्न बाँकी रहेको नेताहरूले बताएका छन् ।

    राप्रपाका एक पदाधिकारीले भने, ‘यो निशर्तरुपमा हुन लागेको एकता हो, उहाँहरूले कुनै पनि पदका लागि बार्गेनिङ गर्नुभएको छैन । न्यायोचितरुपमा पदीय मिलान हुन्छ ।’

    २०७८ सालमा भएको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि कमल थापाले पार्टी परित्याग गरेका हुन् । उनले आफूलाई राजाले चुनाव हराएको भन्दै राजसंस्थाको एजेन्डा पनि त्यागेका थिए । त्यसपछि थापाले राप्रपाका आफू निकट नेताहरूलाई साथ लिएर ‘राप्रपा नेपाल’ ब्युँताए । तर, सो पार्टीले जनतामा खासै प्रभाव पार्न सकेन । थापा स्वयम्ले एमालेको चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका थिए । तर पनि पराजित भए ।

    राजनीतिक अस्तित्वको संकट पर्दै गएपछि थापाले केही समयदेखि राप्रपामा फर्किने मनशाय बनाएका थिए । संयुक्त जनआन्दोलन समितिको ब्यानरमा यसै वर्ष भएको राजावादी आन्दोलनले थापा र लिङदेनलाई नजिक ल्याएको थियो । त्यहीँबाट एकताको ढोका खुलेको हो ।

    राप्रपाले यो मंसिर १८ गतेभित्र नियमित महाधिवेशन गर्नुपर्ने थियो । तर, पार्टीको बैठकले अध्यक्ष लिङदेनको कार्यकाल ६ महिना थप गरेको छ । जसअनुसार आगामी जेठ १८ भित्र महाधिवेशन गर्नुपर्छ । अध्यक्ष लिङदेन फेरि अध्यक्ष बन्ने योजनामा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend