काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जेनजी युवाहरूले ‘संयुक्त जेनजी आन्दोलन’ को औपचारिक घोषणा गरेका छन्। अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहले सुशीला कार्की सरकारलाई अपदस्थ गरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने, संविधान पुनर्लेखन गर्नुपर्ने र सर्वपक्षीय सरकार बनेपछि मात्र चुनाव गराउनुपर्ने माग राखेको छ।
आज माइतीघर मण्डलामा मिराज ढुंगाना, रविकिरण हमाल, निकोलस भुसाललगायतका युवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले सरकारले सेप्टेम्बरको जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्न नसकेको र युवाहरूको भावनालाई बेवास्ता गरेको आरोप लगाएका छन्।
प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको थियो। प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसअघि पनि जेनजी समूहले सरकारविरुद्ध विभिन्न विरोध कार्यक्रम गर्दै आएको छ।
जेनजी अभियन्ताहरूले सरकारले भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र संवैधानिक सुधारमा कुनै ठोस काम नगरेको बताएका छन्। उनीहरूले शान्तिपूर्ण आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
यो आन्दोलनले सेप्टेम्बर २०२५ को जेनजी विद्रोहपछि गठित सुशीला कार्की सरकारमाथि थप दबाब बढाएको छ। सरकारले भने आन्दोलनको मागलाई सम्बोधन गर्न विभिन्न आयोग र समिति गठन गरेको दाबी गर्दै आएको छ।
