२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • मिराज र सुदनलाई रक्षा बमको कडा...

मिराज र सुदनलाई रक्षा बमको कडा जवाफ : भदौ २८ मा ढोगेको खुट्टा सम्झनुस्

मिराज र सुदनलाई रक्षा बमको कडा जवाफ : भदौ २८ मा ढोगेको खुट्टा सम्झनुस्

सहर्ष न्युज
सोमवार, पौष ७ २०८२
सहर्ष न्युज
सोमवार, पौष ७ २०८२
  • काठमाडौं । जेनजी अभियान्ता तथा नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले साथी अभियन्ताहरू सुदन गुरुङ र मिराज ढुंगानाप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन्।

    उनले कसैको नाम नलिई एकजना जेनजी अभियन्तालाई २३ भदौको आन्दोलनमा अनुपस्थित हुँदाहुँदै अन्तरिम सरकारलाई ‘कामचोर’ भन्दै संसद् पुनर्स्थापना र सर्वपक्षीय सरकारको वकालत गरेको भन्दै आलोचना गरेकी छिन्। उनको यो जवाफ आजदेखि आन्दोलन गर्ने उद्घोष गरेका ढुंगानालाई दिएकी हुन्। 

    त्यस्तै गुरुङले एक अन्तर्वार्तामा संसद् पुनर्स्थापनाको विकल्प अगाडि सारेको भन्दै उनले आपत्ति जनाएकी छिन्।

    रक्षा बमले राजनीतिक कोर्स निकै अगाडि बढिसकेको अवस्थामा पश्चगामी बाटोतर्फ नजान अनुरोध गरेकी छिन्। उनका अनुसार नयाँ जनादेशबाट नयाँ संसद्‌मार्फत नयाँ मुद्दाहरू सम्बोधन गर्नुपर्छ। उनले राजनीतिक प्रक्रियाको आवश्यकतामा जोड दिँदै कसैको स्वार्थका लागि रणनीतिक गोटी नबन्न आग्रह गरेकी छिन्।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले देश ठप्प पार्छौ भनेर दिएको अभिव्यक्तिको जवाफमा गुरुङले ‘हामीले हातमा चुरा लगाएका छैनौँ’ भनेर दिएको अभिव्यक्तिलाई पितृसत्तावादी र स्त्रीद्वेषी टिप्पणी भन्दै बमले कडा आपत्ति जनाएकी हुन्।

    उनी लेख्छिन्, ‘मेरा यी चुरा लगाएका दुबै हात यस्ता सम्पूर्ण गलत कुकृत्यका विरुद्ध आफ्नो मुठ्ठी उठाइरहेकै छन्। चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला। स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस् र याद गर्नुस्, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्।’

    उनले भदौ २८ नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ दिलाउँदाको घटना सम्झाउँदै लेखेकी छिन्, ‘भदौ २८, २०८२ मा ढोगेको खुट्टा सम्झनुस्। तपाईंले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो।’

    हेर्नुस् उनको पूरा फेसबुक स्टाटस

    एक जना जेन जी मित्र, जो Sep 8 को दिन आन्दोलनमै आएका थिएनन्, आज अन्तरिम सरकारलाई “कामचोर” घोषणा गरेर संसद् पुनर्स्थापन र सर्वपक्षीय सरकार भनिरहेका छन्।

    अर्का एक जेन जीका दाइ छन् , उनले पनि केही दिन अगाडि कान्तिपुर टिभीको फायर साइडमा संसद् पुनर्स्थापन र सर्वपक्षीय सरकारकै कुरा विकल्पको रूपमा अगाडि सारेका थिए। अनि फेरि आफै ‘हामी तिमीहरूलाई आउन दिन्छौँ र? हामीले हातमा चुरा लगाएका छैनौँ’ पनि भन्दै थिए।

    जेन जी मित्र र जेन जीका दाइ दुवैलाई भन्न चाहन्छु, तपाईँहरू दुवैले जुन संसद् पुनर्स्थापन को कुरा गरिरहनु भएको छ, हाम्रो देशको राजनैतिक कोर्स त्यहाँबाट निकै अगाडि बढिसकेको छ। अब पश्चगामी बाटोतर्फ जानुभन्दा नयाँ जनादेश लिएर नयाँ संसद् मार्फत मुलुकलाई निकास दिँदै, हाम्रा मुद्दाहरू सम्बोधन गरिने बाटो खोजिनुपर्दछ ।यतिखेर सबैभन्दा प्रमुख कुरा, हामीलाई “Political Process” को आवश्यकता छ। हामी कसैको पनि स्वार्थपूर्तिका खातिर राजनैतिक/रणनीतिक गोटी बन्नुहुँदैन।हामी थप सचेत हुन जरुरी छ।देशमा शान्ति जरुरी छ।

    अनि जेन जीका दाइ , मेरा यी चुरा लगाएका दुवै हात यस्ता सम्पूर्ण गलत कुकृत्यका विरुद्ध आफ्नो मुठ्ठी उठाइरहेकै छन्। चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस् र याद गर्नुस्, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्। भदौ २८,२०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईँले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend