काठमाडौं। सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको औपचारिक शुभारम्भ गर्नुभएको छ। महिला, बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै लैंगिक हिंसा समाजको कलंक रहेको भन्दै यसलाई पूर्ण रूपमा निर्मूल पार्न सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो।
“लैंगिक हिंसा केवल महिलामाथि मात्र होइन, यो समग्र मानवतामाथिको आघात हो,” प्रधानमन्त्रीले भन्नुभयो, “हामीले कानुन मात्र होइन, सोच र व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्छ।”

१६ दिने अभियान मंसिर ९ देखि मंसिर २४ (मानवअधिकार दिवस) सम्म विभिन्न सचेतना तथा कार्यक्रमका साथ देशभर सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
