काठमाडौं। नेपालको राजनीतिको आकाशमा जेन जीका युवाहरूको उदयले एकाएक हलचल मच्चाएको छ। तर, यो हलचल उत्साहजनकभन्दा पनि भ्रमपूर्ण र विभाजित देखिन थालेको छ। विगतका महिनाहरूमा जेन जी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा सम्म पुर्याएर इतिहास रच्यो। तर, अहिले ती नै युवा समूहहरूबीचका मागहरूले उनीहरूलाई अपरिपक्व र बालसुलभ लाग्न थालेका छन्। जनतामा भ्रम मात्र बढिरहेको छ, कुनै स्पष्ट दिशा देखिएको छैन।
हालै 'जनजी मुभमेन्ट नेपाल' ले जारी गरेको वक्तव्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको राजीनामा र उनको भ्रष्टाचारमा छानबिनको माग गरेको छ। इन्स्टाग्राममार्फत सार्वजनिक यो वक्तव्यमा घिसिङलाई विद्युत खरिद–बिक्रीमा अनियमितताको आरोप लगाइएको छ। यो मागले राजनीतिक वृत्तमा तरंग ल्याएको छ। तर, प्रश्न उठ्छ – के यो माग वास्तविक सुशासनको पक्षमा हो, वा व्यक्तिगत वा गुटीय स्वार्थको उपज ? किनकि, सेप्टेम्बरमा नै जनजी आन्दोलनले मन्त्रीको उम्मेदवार बनाएर समर्थन गरेको थियो। अहिलेको यो यू–टर्नले उनीहरूको विश्वसनीयतामाथि प्रश्नचिन्ह खडा गरेको छ।
यसैबीच, अर्को जनजी समूह 'हामी नेपाल' ले पनि आफ्नो अलग एजेन्डा अघि सारेको छ। उनीहरूले राजनीतिक सुधार, युवा सहभागिता र आर्थिक अवसरका लागि माग राखेका छन्, तर यो माग पनि जनजी मुभमेन्टसँग टकरावपूर्ण छ। 'हामी नेपाल' ले आफूलाई जेन जी आन्दोलनको प्रतिनिधि घोषणा गरे पनि, अन्य समूहहरूले यसलाई अस्वीकार गरेका छन्। सेप्टेम्बरका हिंसात्मक प्रदर्शनपछि 'हामी नेपाल' का नेतृत्वमा सुदन गुरुङलाई सेनाले समन्वयकर्ता बनाए पनि, अन्य जेन जी गुटहरूबीच सहमति बन्न सकेन। यो विभाजनले आन्दोलनको शक्ति कमजोर बनाएको छ।
दिनप्रतिदिन यस्ता मागहरू बढ्दै जाँदा विभिन्न जेन जी संगठनहरूको जन्म पनि हुँदैछ। काठमाडौंबाट पोखरासम्म, धरानदेखि नेपालगन्जसम्म 'जेन जी यो' र 'जेन जी त्यो' नामका समूहहरू उम्रिरहेका छन्। कतिपय त सामाजिक सञ्जालमा एक रातमै बनेका देखिन्छन्। यी मागहरूमा विद्युत्, शिक्षा, रोजगारीदेखि राजनीतिक नेतृत्वसम्मका विषय छन्, तर तिनमा एकरूपता छैन। कहिले घिसिङको समर्थन, कहिले विरोध – कहिले बालेन्द्रको माग , कहिले बिरोध - यस्ता अनावश्यक बहस र मागहरूले जनजीहरूलाई बालखेलजस्तो बनाइदिएको छ। कुनै समूहले त प्रधानमन्त्रीको बिरोध र राजिनामा माग गरिरहेका छन्। उनीहरूको उत्साह प्रशंसनीय छ, तर अपरिपक्वताले गर्दा जनतामा भ्रम मात्र फैलिरहेको छ।
जनताले पहिले नै राजनीतिक दलहरूको विभाजन र भ्रष्टाचारबाट थाकेका छन्। अब जेन जीका यी विभिन्न समूहहरूले थप जटिलता थपिदिएका छन्। कुन समूह वास्तविक हो ? कुनको माग प्राथमिकतायुक्त छ ? यस्ता प्रश्नहरूले सर्वसाधारणलाई अलमलमा पारिदिएको छ। जेन जीहरूले यदि साँच्चै परिवर्तन चाहन्छन् भने, एकजुट भएर स्पष्ट एजेन्डा बनाउनु पर्छ। विभाजन र सतही मागहरूले आन्दोलनलाई कमजोर मात्र बनाउँछन्, यसले राजनीतिक स्थिरतामाथि पनि असर पार्छ।
यो समय जेन जीहरूका लागि परिपक्वताको परीक्षा हो। उनीहरूले आफूलाई प्रमाणित गर्नु छ – बालसुलभ मागहरू होइन, राष्ट्रिय हितमा केन्द्रित संघर्ष। अन्यथा, यो उत्साह पनि ओली सरकारको जस्तै इतिहासको पानामा सीमित हुनेछ। जनताले युवा शक्तिबाट आशा राखेका छन्, भ्रम र विभाजनबाट होइन।
