काठमाडौं। नेपालको राजनीतिको आकाशमा सेप्टेम्बर महिनामा एउटा चम्किलो 'जेन जी उल्का' झर्यो । सामाजिक संजालको ब्यानमा सुरु भएको यो 'क्रान्ति' ले पुराना दलहरूलाई धुलोमा मिलायो, सरकार ढाल्यो, र केपी ओलीजस्ता 'डाइनोसोर' नेताहरूलाई 'ट्रेन्डिङ' बाट 'ट्रेन्ड आउट' बनायो । तर अहिले ? अहिले त त्यही उल्का 'मिटिङ' भएर हराएको छ । जेन जेडका ती 'हिरो'हरू कहाँ छन् ? कि तिनीहरू पनि फेसबुक र इन्स्टाका स्टोरी जस्तै हुन् - २४ घण्टा पछि गायब हुने !
सम्झनुहोस्, सेप्टेम्बर ८ मा काठमाडौंका सडकहरूमा हजारौं जेन जीका युवाहरू उर्लिएका थिए । 'भ्रष्टाचार रोक्न', 'सामाजिक संजालमा बोल्न पाउने स्वतन्त्रता' भन्दै ह्यासट्यागहरू चलाईरहेका ती युवा विद्रोहीहरूले ओली सरकारलाई 'अनफलो' गरेर नयाँ पहिलो महिला प्रधानमन्त्रीको बाटो खोले।
तर प्रश्न यो हो – ती जेन जी लिडरहरू कहाँ हराए ? क्रान्तिपछि 'कूल डाउन' भएर 'कूल' मोडमा फर्के कि ? हाम्रा जर्नलिस्टहरूले 'इन्भेस्टिगेसन' गरे ('गुगल' बाट)। फेला पर्यो के ? धेरैजसो त स्कूल-कलेजको 'सेमेस्टर एक्जाम' मा डुबेका छन् ! काठमाडौंको त्रिभुवन विश्वविद्यालयमा एउटा 'क्रान्तिकारी' छात्रा भेटियो – 'हामीले सरकार ढाल्यौं, अब 'अकाउन्टिङ' को पेपरले हामीलाई ढाल्छ',उनले जिस्किदै भने । अर्को 'लिडर' त कलेजमा 'म्याथ्स' को फर्मुला क्र्याक गर्दै थिए । बाटा बाटा नारा लगाउदै हिडेका जेन जी अहिले बोर्ड र प्रि बोर्ड मै व्यस्त छन्।
तर दुई महिना बितिसक्दा ? आहा, सबै कुरा पुरानै जस्तो । पुराना दल र नेताहरू त पुन सत्तामा आउने मुडमा छन् – अर्थात् पुन – हरेक बिहान उठ्दा त्यही भ्रष्टाचारका आरोप, एक आर्कालाई गाली - विकासको कुरा नगरी मौनता, राजनीतिक अनिश्चितता र चुनावको हल्ला । लाग्छ नयाँ नेतृत्व गर्नेहरु चुप चाप छन् र पुराना खेलाडीहरू फेरि मैदानमा फर्की रहेका छन्।
केपी ओलीको इन्टरभ्यू र बोलीको सर्कस पनि जारि छ । क्रान्तिको दिन 'एक्जाइल' मोडमा गएका ओली फेरि कमब्याक गरिरहेका छन् । च्यानलमा इन्टरभ्यू दिँदै छन् – 'यो क्रान्ति मेरो विरुद्धको 'फेक न्यूज' थियो, म फर्केर 'स्टेबल' गर्छु' भनेर । एक इन्टरभ्यूमा भने, ' प्रधानमन्त्री को हातमा बन्दुक हुन्छ ? प्रधानमन्त्रीले कहाँ बन्दुक चलाउने, गोलि चलाउने आदेश दिने / नदिने गर्छ ? ओलीको यो मिडिया टुर त प्रमोशनल क्याम्पेन जस्तो छ, जसले राजनीतिक अनिश्चिततालाई झन् बढाई रहेको छ । जनता त सोच्दै छन् – ओलीलाई हटाएको तर फेरी ओली नै आउने हो की ?
प्रचण्डको 'नयाँ पार्टी' – पुरानै अनुहारहरूको 'रिमिक्स' । पार्टी नयाँ हो , तर भित्रभित्रै त पुरानै 'पावर सेयरिङ' को खेल । माधव कुमार नेपाल , महेन्द्र राइ यादव , कर्णजित बुढाथोकी जस्ता नेताहरु जोडिएर बनिएको पार्टीबाट खासै आशा गरिएको छैन।
कांग्रेसको 'मौन मोड' चलिरहेको छ । नेपाली कांग्रेस, जसलाई एक समय 'किंगमेकर' भनियो, अहिले त 'साइलेंट मोड' मा छ । शेरबहादुर देउवा विदेश पलाएन भएपछि अन्य कुनै पनि नेताले ठूलो कुरा गरेका छैनन् । पार्टीभित्र 'ड्यामेज कन्ट्रोल' चलिरहेको छ – तर विकासको कुरा ? कुनै छैन । कांग्रेसले 'चुनावी तयारी' त गरिरहेको छ भनिएको छ – तर अहिले कांग्रेस शान्त देखिन्छ।
दुई महिनामा के भयो त ? सबै पुरानै । भ्रष्टाचारका आरोप त 'ट्रेन्डिङ' नै छन् – ललिता निवास काण्डको 'दोश्रो पार्ट' सुरु भयो, जसमा नयाँ गठबन्धनका मन्त्रीहरू कै नाम जोडिए । एन सेल काण्ड - अख्तियार काण्ड - आदि फेरी गुञ्जियो तर विकासको कुरा ? 'ब्ल्याक होल' मा हरायो – सडक, स्वास्थ्य, शिक्षा जस्ता मुद्दा त प्रॉमिस मात्रै बने । राजनीतिक अनिश्चितता त पूर्वनिर्धारित जस्तो भयो – राजनीतिक गठबन्धन हरेक हप्ता 'शेक-अप' मा छ, नेताहरु बीच 'कोल्ड वार' चलिरहेको छ । र यसको बीच चुनावको हल्ला ? भन्ने हो भने चुनाबको कुनै कन्क्रिट प्लान छैन । विशेषज्ञका अनुसार चुनाब गराउन निकै कठिन छ र नयाँ मतदाता नामावलीमा १ लाख जना थपिए पनि अपेक्षाअनुसार 'जेन जी' नआउँदा 'चिन्ता' छाएको छ। पक्कै उनीहरूआ आफ्नो कलेज फर्के होलान , 'इन्टर्नसिप' खोज्दै होलान , र आन्दोलनको 'मेमोरी' लाई 'स्टोरी हाइलाइट' मा राखे होलान।
अब के अपेक्षा गरौं ? जेन जेडहरू फर्केर 'सेकन्ड सीजन' ल्याउँछन् कि 'एक्जाम' सकिएपछि विदेश तिर पलाएन हुन्छन ? कि यो क्रान्ति पनि 'पुनारो पार्टी' जस्तै – सुरुमा 'हट', अन्तमा 'फ्लप'। नेपालको जेन जीको क्रान्ति 'वन-नाइट स्ट्यान्ड' जस्तो भयो। नेपालको राजनीति त 'सर्कुलर मोशन' मा घुमिरहेको छ – परिवर्तनको वादा गर्दै पुरानै चक्रमा फर्कने । जनता त थाकेका छन् – 'फेरि यही ?' भनेर । अब के ? अब को ? के हुन्छ भनेर सबै चिन्तित छन्। दुई महिना बिते पनि सबै पुरानै जस्तो लाग्छ, तर साँचो कुरा यो हो – जेन जेडको क्रान्ति सकिएको छैन, यो त भित्रभित्रै उम्रिरहेछ। युवाहरू कलेज फर्केका छन्, तर अब उनीहरू पढाइसँगै राजनीति पनि सिक्दैछन्। टोल टोलमा साना समूह बनेका छन्, हरेक खर्चको हिसाब राख्दैछन्, र आउने चुनावमा आफ्नै उम्मेदवार तयार पार्दैछन्। यो पटक परिवर्तन ढिलो होला, तर आउनेछ – किनकि अब जनताले चुप लागेर बस्न छोडेका छन्। नेपाल अब युवाहरूको हातमा छ, र यो यात्रा सुरु भएको मात्र हो।
