२०८३ भाद्र २८ गते आइतवार

images

आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

आइतवार, कार्तिक ३ २०८२
आइतवार, कार्तिक ३ २०८२
  • काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर मनाइँदैछ ।

    कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ ।
    बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए ।

    यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजाआराधना हुने गर्छ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ । यहाँ कागको ठूलो मूर्ति बनाइएको छ ।
    यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

    यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको छ ।
    यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

    ओ के बाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend