काठमाडौं । नेपाल आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को लागि छनोट भएको छ । एसिया तथा पूर्वी एसिया प्रशान्त क्षेत्र छनोट प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै नेपालले उपाधिको सम्भावना बलियो बनाएको थियो भने बुधबार ओमानसंगको जितसँगै विश्वकप यात्राको टिकट पक्का गरेको छ ।
ओमानलाई ३८ रनले हराउनु अघि नै नेपालले छनोट सुनिश्चित गरेका थिए । नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा ३२ रनको सर्वाधिक स्कोर बनाए भने मोहम्मद नदीमले २५ रन योगदान दिए ।
नेपालका गुल्शन झाले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरे । नन्दन यादव र सोमपाल कामीले समान २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट हात पारे । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतकीय पारीको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । भुर्तेलले ५१ बलमा ६९ रन जोडे भने आसिफ शेखले २४, गुल्शन झाले १८ (२ छक्कासहित) र आदिल आलमले १६ रन बनाए ।
पावरप्लेमा विकेट नगुमाई ५३ रन जोड्ने नेपालले त्यसपछि नियमित विकेट गुमाए पनि सम्मानजनक स्कोर बनायो । ओमानका लागि नदीम खानले ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे भने शुफिया मेहमुद र जितेन रामानन्दीले २-२ विकेट लिए ।
यो जितसँगै नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आइतबार यूएई र सोमबार कतारलाई हराएको थियो भने ओमानले पनि कतार र यूएईलाई पराजित गरेको थियो । अब नेपालले शुक्रबार सामोआसँग अन्तिम खेल खेल्नेछ ।
आईसीसी टी-२० विश्वकप २०२६ फेब्रुअरी ६ देखि मार्च ७ सम्म भारत र श्रीलंकामा आयोजना हुनेछ । यो नेपालको तेस्रो विश्वकप सहभागिता हुनेछ । पहिलो पटक २०१४ मा बंगलादेशमा र दोस्रो पटक २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा खेलेको नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्ने अवसर पाएको छ ।
नेपालका कप्तान रोहित पौडेलले यो सफलताप्रति खुशी व्यक्त गर्दै भने, "नेपाललाई बधाई ! विश्वकपमा पुग्नका लागि हामी धेरै खुशी छौं । यो सम्पूर्ण देशलाई बधाई दिन्छु । हाम्रो टिमले कडा मेहनत गरेको छ र अब विश्वकपमा राम्रो प्रदर्शन गर्ने लक्ष्य छ ।"
यसैबीच, प्रसिद्ध भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले पनि नेपालको सफलताप्रति बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, "नेपालको उत्कृष्ट प्रदर्शनका लागि बधाई ! तपाईंहरुको यात्रा प्रेरणादायी छ । विश्वकपमा शुभकामना ।"
त्यस्तै, आईपीएल फ्रेन्चाइज चेन्नई सुपर किङ्सले पनि आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाताबाट नेपाललाई बधाई दिएको छ । सीएसकेले लेखेको छ, "नेपाल क्रिकेट टिमलाई टी-२० विश्वकप २०२६ को लागि छनोटका लागि हार्दिक बधाई ! तपाईंहरुको संघर्ष र लगनशीलताले हामीलाई गर्व लाग्यो । विश्वकपमा उत्तम प्रदर्शनको शुभकामना ।"
