२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • सुपर सिक्समा कतारमाथि नेपालको ५ रनको...

सुपर सिक्समा कतारमाथि नेपालको ५ रनको रोमाञ्चक जित, सन्दीपको ५ विकेट र २५० औं अन्तर्राष्ट्रिय विकेट

सुपर सिक्समा कतारमाथि नेपालको ५ रनको रोमाञ्चक जित, सन्दीपको ५ विकेट र २५० औं अन्तर्राष्ट्रिय विकेट

मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौं : नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ। खेलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो।

    खेलमा नेपाल हारको नजिक पुगेको देखिन्थ्यो, तर स्टार लेग स्पिनर सन्दीप लामिछाने मैदानमा आएपछि खेलको दिशा नै परिवर्तन भयो। अन्य बलरहरूले खासै प्रभाव पार्न नसकेको अवस्थामा सन्दीपले उत्कृष्ट बलिङ गरे। उनले ५ विकेट लिँदै कतारको ब्याटिङ लाइनअप ध्वस्त पारे र नेपाललाई जित दिलाउन निर्णायक भूमिका खेले। यही कारण सन्दीप नेपाली राष्ट्रिय टिमका प्रमुख खेलाडी मानिन्छन्।

    कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए भने जुबेर अलीले ५२ रन जोडे। तर अन्य ब्याटरहरूले उल्लेख्य योगदान दिन नसक्दा कतार पराजित भयो। नेपालका लागि सन्दीपसँगै नन्दन यादवले २ विकेट र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। नेपालका कप्तान रोहित पौडेलले ५८ रनको योगदान दिएका थिए।   

    सन्दीपले यो खेलमा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरको २५० औं विकेट पूरा गरेका छन्। कतारविरुद्धको दोस्रो विकेट लिँदा उनले ओपनर लियानागेलाई बोल्ड आउट गर्दै यो कोसेढुंगा पार गरे। टी-२० अन्तर्राष्ट्रियमा उनको यो १२३ औं विकेट हो भने ओडीआईमा १२७ विकेट रहेका छन्। यो खेलसम्म उनको कुल विकेट सङ्ख्या २५१ पुगेको छ।

    नेपालले सुपर सिक्सको अघिल्लो खेलमा आइतबार यूएईलाई पराजित गरेको थियो। सन्दीपको यस्तो शानदार प्रदर्शनले नेपालको टिमलाई थप बलियो बनाएको छ र आगामी खेलहरूमा पनि उनको प्रदर्शनमा सबैको ध्यान केन्द्रित हुनेछ। नेपालले भोली निकै महत्वपूर्ण खेलमा ओमानको सामना गर्नेछ। नेपाल संगै ओमान पनि यस प्रतियोगितामा अपराजित रहेको छ। ओमानले एशिया कप खेलेर आएको हो। खेल नेपाली समय अनुसार रातिको ८ : ४५ मा सुरु हुनेछ।    

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend