काठमाडौँ – आईसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्रशान्त छनोटको सुपर सिक्सको पहिलो खेलमा नेपालले आज आफ्नो बलियो र पुरानो प्रतिद्वन्द्वी यूएईसँग भिड्दैछ। यो खेल दिउँसो ४:१५ बजे ओमन क्रिकेट एकेडेमी टर्फ १ मा हुनेछ। दुवै टिम समूह चरणमा अपराजित छन् र सुपर सिक्समा ४ अंकसहित प्रवेश गरेका छन्। यो खेललाई एसोसिएट राष्ट्रहरूको 'महाभिडन्त' भनिन्छ, किनभने नेपाल र यूएईबीचको प्रतिस्पर्धा सधैं रोमाञ्चक हुन्छ।
नेपालले समूह चरणमा जापान र कुवेतलाई हराएर शानदार प्रदर्शन गरेको थियो। अब कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली टिम यूएईलाई हराएर सुपर सिक्समा बलियो सुरुवात गर्न चाहन्छ। नेपाली समर्थकहरू यो खेलका लागि उत्साहित छन् र टिमलाई हौसला दिइरहेका छन्।
नेपालले समूह चरणमा २ खेल जितेर ४ अंक जोडेको छ र सुपर सिक्समा थप २ अंक जोडेर बलियो स्तिथिमा बस्ने अवसरमा छ। यो खेल जितेमा नेपाल सेमिफाइनलतर्फ ठूलो कदम चाल्नेछ। कप्तान रोहितले भने, "हामी पूरै तयार छौं। "
नेपाली समर्थकहरूले 'नेपाल ! नेपाल !' को नारा लगाउन थालिसकेका छन्। एक समर्थकले भने " यो खेलमा नेपालको जोश, जुनून र एकताले यूएईलाई हराउने पक्का छ। जय नेपाल !"।
नेपालका स्टार खेलाडीहरू
कुशल भुर्टेल : नेपालका ओपनर कुशलले १५ इनिङ्समा ५३१ रन बनाएका छन् । उनको आक्रामक ब्याटिङले नेपाललाई राम्रो सुरुवात दिने अपेक्षा गरिएको छ। कुवेत संगको खेलमा उनी अन्तिम ओभर सम्म क्रिज़मा डटेका थिए। कुवेत बिरुद्ध उनले ६६ रन र जापान बिरुद्ध २१ रन जोडेका थिए।
आसिफ शेख : अघिल्लो जापानसंगको खेलमा ३८ रन जोडेका नेपालका स्टार विकेट कीपर ब्याट्सम्यान आसिफले ६४ खेलमा १,०००+ रन बनाएका छन्।
संदीप लामिछाने :संदीप नेपालमा मात्र नभएर बिश्व भरि परिचित छन् । उनको जादुमयी बलिङले यूएईका ब्याट्सम्यानलाई समस्यामा पार्नेछ।
गुलसन कुमार झा : गुलसन कुमार झा टिमका युवा स्टार हुन् र नेपालको भविष्यका लागि महत्वपूर्ण खेलाडी मानिन्छन्। उनको आक्रामक ब्याटिङ र किफायती बोलिङले टिमलाई सन्तुलन दिन्छ। जापान संग उनले म्यान अफ द म्याच हासिल गरेका थिए।
रोहित पौडेल : टिमको हिरो र कप्तान
कप्तान रोहित पौडेल नेपालको ब्याटिङको मुख्य आधार हुन्। उनले टी२० अन्तर्राष्ट्रियमा ५६ खेलमा १५१९ रन बनाएका छन्, जसको औसत २७.६२ छ। उनको स्ट्राइक रेट ११५ को नजिक छ, जसले विपक्षी बलरलाई दबाबमा राख्छ। हालैको छनोट खेलमा उनले १४ इनिङ्समा २९४ रन बनाए, जसमा १ अर्धशतक पनि छ। रोहितले १२ विकेट पनि लिएका छन्, जसले उनलाई अलराउन्डर बनाउँछ। उनको नेतृत्व र ब्याटिङले यूएईविरुद्ध जितको आशा जगाएको छ।
