२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • नेपालको ऐतिहासिक विजय : युनिटी कप...

नेपालको ऐतिहासिक विजय : युनिटी कप टी-२० मा वेस्ट इन्डिज स्तब्ध

नेपालको ऐतिहासिक विजय : युनिटी कप टी-२० मा वेस्ट इन्डिज स्तब्ध

मंगलवार, आश्विन १४ २०८२
मंगलवार, आश्विन १४ २०८२
  • काठमाडौँ। नेपालले युएईमा जारी युनिटी कप टी-२०आई शृंखलामा वेस्ट इन्डिजलाई लगातार दोस्रो खेलमा पराजित गर्दै एक खेल बाँकी छँदै शृंखला आफ्नो नाममा लेखाएर विश्व क्रिकेटमा सनसनी मच्चाएको छ। नेपालको यो शानदार प्रदर्शनले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक विजयको नयाँ अध्याय लेखेको छ।

    नेपालले वेस्ट इन्डिजलाई दोस्रो खेलमा ९० रनको विशाल अन्तरले परास्त गर्‍यो। नेपालले प्रस्तुत गरेको १७४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज केवल ८३ रनमै समेटियो। वेस्ट इन्डिजका जेसन होल्डरले सर्वाधिक २१ रन बनाए पनि टिमले कुनै पनि समय खेलमा पकड बनाउन सकेन।

    नेपालका स्टार बलर आदिल आलमले घातक बलिङ गर्दै ४ ओभरमा मात्र २४ रन खर्चेर ४ विकेट चट्काए। कुशल भुर्तेलले ३ विकेट हात पार्दा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिएर वेस्ट इन्डिजको ब्याटिङ ध्वस्त पारे।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको बलियो योगफल खडा गरेको थियो। नेपालका ओपनर आसिफ शेख र सन्दीप जोराले विस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले। आसिफले ४७ बलमा नटआउट ६८ रन जोड्दा सन्दीपले ३९ बलमा ६३ रनको आक्रामक पारी खेले।

    नेपाल ४३-३ को संकटमा परेको बेला आसिफ र सन्दीपले चौथो विकेटका लागि १०० रनको शानदार साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पुर्‍याए।

    पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई हराएर इतिहास रचेको थियो। दोस्रो खेलको यो शानदार जितसँगै नेपालले टेस्ट राष्ट्रविरुद्ध पहिलो पटक टी-२० शृंखला जितेर विश्व क्रिकेटमा आफ्नो दबदबा कायम गरेको छ। यो विजयले नेपाली क्रिकेटको उज्ज्वल भविष्यको संकेत गरेको छ।

    खेलपछिको प्रतिक्रिया

    आसिफ शेख, प्लेयर अफ द म्याच: "विकेट हेर्दा हामीलाई १६० रनको स्कोर उपयुक्त लागेको थियो। सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे, जसले हाम्रो साझेदारीलाई बलियो बनायो। हाम्रा तलका ब्याट्सम्यानहरूले खेल समाप्त गर्न सक्छन् भन्ने विश्वास थियो। यो हाम्रो लागि ठूलो उपलब्धि हो। हामी ३-० को जितसहित शृंखला समाप्त गर्न चाहन्छौं। नेपालमा क्रिकेट पर्वजस्तै छ। हाम्रा फ्यानहरूलाई धन्यवाद, जसले जहाँ खेले पनि हामीलाई साथ दिन्छन्।"

    रोहित पौडेल, नेपालका कप्तान: "हामी निकै खुशी छौं। टेस्ट राष्ट्रविरुद्ध जित्नु ठूलो कुरा हो। आसिफ र सन्दीपले उत्कृष्ट साझेदारी गरे। हाम्रो फील्डिङमा गर्व छ, नेपालले विगत १०-१५ वर्षदेखि उत्कृष्ट फील्डिङको इतिहास बोकेको छ। यो शृंखलाले हाम्रो प्रतिभा विश्वसामु देखाउने अवसर दिएको छ। हामी ३-० को क्लीन स्वीप गर्न चाहन्छौं र यो लयलाई २०२६ विश्वकप छनोटमा कायम राख्नेछौं।"

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend