काठमाडौं। सरकारद्वारा शान्तिपूर्ण समाधानका लागि राजनीतिक संवादको अपिल गरिएको छ।
पत्रमा भनिए अनुसार "देशका विभिन्न भागहरूमा, विशेष गरी काठमाडौंमा, हिजोदेखि भइरहेका प्रदर्शनहरूका कारण ठूलो संख्यामा जनधनको क्षति भएको छ। यी प्रदर्शनहरूमा ज्यान गुमाएका व्यक्तिहरूप्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र सम्बन्धित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
माननीय प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको सन्दर्भमा, यो संवेदनशील परिस्थितिमा थप जनधनको क्षति रोक्न सबै आम नागरिकलाई संयमता अपनाउन हामी हार्दिक अनुरोध गर्दछौं। यस समस्याको शान्तिपूर्ण समाधानका लागि यथाशीघ्र राजनीतिक संवादमार्फत उपाय खोज्न हामी सम्बन्धित सबै पक्षलाई हार्दिक अपिल गर्दछौं। "
यो अपिल नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल, गृहसचिव गोकार्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाद्वारा संयुक्त रूपमा जारी गरिएको हो।
