काठमाडौँ। काठमाडौंको बानेश्वर लगायतका क्षेत्रमा दिनभर तनावको स्थिति सिर्जना भएको छ। सामाजिक सञ्जाल बन्द गरिएको विरोधमा जेनजीहरूले गरेको प्रदर्शनमाथि प्रहरीले कारबाही गरेपछि स्थिति तनावपूर्ण बनेको हो।
प्रदर्शनका क्रममा काठमाडौं उपत्यकामा प्रहरीको गोली प्रहारबाट १६ जनाको मृत्यु भएको छ भने धेरै व्यक्ति घाइते भएका छन्। घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
प्रहरीको गोली प्रहारबाट आफ्ना एक सहयोद्धाको मृत्यु भएपछि जेनजीहरू थप आक्रोशित बनेका छन्। उनीहरूले बानेश्वरस्थित संसद भवन अगाडिको सडक कब्जा गरी दिनभर प्रदर्शन गरे।
प्रहरीले प्रदर्शन दबाउन दर्जनौं राउन्ड गोली र अश्रुग्यास प्रहार गरेको थियो। तैपनि, प्रदर्शनकारीहरूले सडक कब्जा गर्न छाडेनन्।
त्यसपछि, काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गर्यो। तर, प्रदर्शन रोकिएन, बरु थप तीव्र बन्यो। प्रहरीले मुख्य सडकबाट प्रदर्शनकारीहरूलाई हटाउन बल प्रयोग गर्यो।
साँझदेखि, प्रदर्शनकारीहरूले काठमाडौंको बानेश्वर वरपरका भित्री सडकहरूमा पनि प्रदर्शन शुरू गरेका छन्।
जेनजीहरूको प्रदर्शनका कारण बानेश्वर वरपरका भित्री सडकहरूमा तनावको स्थिति सिर्जना भएको छ।
