काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको गुनासो गरेका छन्।
समाजवादी प्रेस संगठनको बैठकलाई शनिबार सम्बोधन गर्दै नेपालले आफ्नो जीवनमा कहिल्यै भ्रष्टाचारमा संलग्न नभएको दाबी गरे। उनले भने, “मैले जीवनमा कसैसँग एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन। ममाथि लगाइएको मुद्दा पूर्ण रूपमा आधारहीन र अन्यायपूर्ण छ।”
पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा दिने, र दिएकोभन्दा बढी जग्गा बिक्री गर्न दिने आरोपमा आफूविरुद्ध मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै उनले कानुनले व्यवस्था गरेअनुसार नै सबै प्रक्रिया अगाडि बढाइएको बताए।
‘मन्त्रिपरिषद्को सर्वसम्मत निर्णय थियो’
नेपालका अनुसार पतञ्जलीलाई दिइएको जग्गा सम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट सर्वसम्मतिले पारित भएको थियो। उनले आफू प्रधानमन्त्री हुँदा क्याबिनेटमा तत्कालीन रक्षा मन्त्री विद्या भण्डारी, एमाले महासचिव शङ्कर पोखरेल, सुजाता कोइराला, भीम रावल, र मीनेन्द्र रिजालजस्ता मन्त्रीहरू सहभागी रहेको स्मरण गरे।
नेपालले भने, “हदबन्दी छुट सम्बन्धी विशेष व्यवस्था कानुनमै छ। त्यही कानुनी व्यवस्थाअनुसार निर्णय गरिएको हो। हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न दिन पाइन्छ कि पाइँदैन भन्ने विषय कानुनी व्याख्याको हो। यसमा भ्रष्टाचारको कुनै सम्बन्ध छैन।”
पूर्वप्रधानमन्त्री नेपालले उक्त मुद्दालाई नियोजित रूपमा आफूलाई फसाउने प्रयासका रूपमा व्याख्या गर्दै न्याय मागेका छन्।
