काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्। उनले स्वदेशी र विदेशी लगानीकर्तालाई प्रदेशमा लगानी गर्न आग्रह गर्दै सुदूरपश्चिमलाई एक आकर्षक व्यापारिक गन्तव्यका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाए।
शनिबार हिन्दु इकोनोमी फोरमका प्रतिनिधिहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै शाहले भने, “सुदूरपश्चिममा लगानीकर्तालाई स्वागत गर्न हामी आतुर छौँ। हामी लगानीमैत्री वातावरण बनाउँछौँ, तपाईंहरूको निर्धक्क भएर लगानी गर्नुहोस्।”
दृष्टिकोण परिवर्तनको आवश्यकता
मुख्यमन्त्री शाहले सुदूरपश्चिमको दृष्टिकोण परिवर्तन गर्न आग्रह गर्दै त्यहाँ समस्याभन्दा कयौँ गुणा बढी सम्भावना रहेको बताएको छन्। उनले भने, “सुदूरपश्चिममा लगानीका लागि पर्याप्त सम्भावना छ। हामी लगानी भित्र्याउनका लागि सकारात्मक छौँ।”
शाहले हालैको भारत भ्रमणमा भारतीय मुख्यमन्त्रीहरूसँग सुदूरपश्चिममा लगानी आकर्षित गर्ने बारे छलफल गरेको र आगामी लगानी सम्मेलनबाट भारततर्फबाट लगानी आउने अपेक्षा व्यक्त गरे।
धार्मिक पर्यटनमा लगानीको अवसर
अन्तर्क्रिया कार्यक्रममा हिन्दु इकोनोमी फोरमका प्रतिनिधिहरूले सुदूरपश्चिमको धार्मिक पर्यटन क्षेत्रलाई प्रमुख लगानी क्षेत्रका रूपमा अघि सारेका छन्। फोरमका नेपाल संयोजक सुरज बैद्यले भने, “हामी विश्वभरका हिन्दुहरूको माध्यमबाट नेपालमा लगानी ल्याउने विषयमा छलफल गरिरहेका छौँ। सुदूरपश्चिममा धेरै धार्मिक स्थल छन् जसमा लगानी ल्याउन हामी काम गर्नेछौँ।”
बैद्यले नीतिगत सुधारको आवश्यकता औँल्याउँदै मुख्यमन्त्री शाहलाई लगानीमैत्री नीति बनाउन सुझाव दिएका थिए।
लगानीका लागि सहयोग
हिन्दु इकोनोमिक्स फोरमका महासचिव महेश दाहालले सुदूरपश्चिमको धार्मिक आस्थामा आधारित पर्यटनलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण भूमिका खेल्न सकिने उल्लेख गरे। उनले भने, “सुदूरपश्चिममा लगानी गर्न सहज वातावरण बनाउनु पर्दछ। मुख्यमन्त्रीज्यू आफैले लगानीका लागि पहल गरिरहेका छन्, हामी उहाँलाई साथ दिन तयार छौँ।”
उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले पनि सुदूरपश्चिममा लगानीका अवसरहरू थप उजागर गर्न नीति सुधारको आवश्यकता बताउँदै भारतसँग व्यापारिक नाकाहरू खोल्ने सन्देश दिए।
भारत र चीनसँग लगानीको संवाद
पूर्व गभर्नर चिरञ्जीवी नेपालले पनि सुदूरपश्चिमको विकास र लगानीको विषयमा आफूहरूले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए। उनले उत्तर प्रदेश र उत्तराखण्डका लगानीकर्ताहरूसम्म पुगेर सुदूरपश्चिमको विकास सम्भव हुने दाबी गरे। “भारत र चीनलाई ट्रान्जिट बनाउनु पर्छ। दुवै देशका लगानीकर्तालाई सुदूरपश्चिमतर्फ आकर्षित गर्न आवश्यक छ।”
आगामी लगानी सम्मेलन
सुदूरपश्चिम प्रदेशका लगानी अवसर र योजनाबारे प्रदेश योजना आयोगका सदस्य नृप सुनारले कार्यपत्र प्रस्तुत गरेका थिए। साथै, परियोजना विज्ञ दिलीप भट्टले आगामी मंसिर १ र २ गते हुने लगानी र विकास सम्मेलनको तयारी र प्राविधिक पक्षबारे जानकारी दिए।
