मधुसुदन अधिकारी
ज्येष्ठ मासको एक उखरमाउलो गर्मीको दिन थियो, थकाइले लड्लाजस्तै भएको एक बटुवा गोरेटो बाटो हुँदै हिंडिरहेको थियो । तीर्खाले उसको घाँटी सुकिसकेको थियो, ओठ चिरा परेका थिए— गर्मीले चिटचिट पसिनम काढेको थियो ।
त्यत्तिकैमा बाटो छेउको एक पुरानो घरको कौशीबाट एक बृद्धको मधुर आवाजले पुकार्यो —
‘बाबु, एकछिन पर्खनुस् । गर्मी छ, तिर्खाउनु भएको होला । एक गिलास पानी पिएर जानुस्, म ल्याइदिन्छु ।’
वृद्ध घरभेटीको यति दयालु बोलाइले बटुवाको मन–मुटु छोयो ।
“आहा ! कस्तो दयावान मान्छे, मेरो अवस्थालाई आफैले बुझेर पानी पिउन आग्रह गर्ने, अहिलेको स्वार्थी दुनियाँमा अझै पनि यस्ता असल मान्छे बाँकी छन् है !” उसले मनमनै भन्यो र जवाफ दियो- ‘हस् बुवा, पानी ल्याइदिनुस्, म पिएर जान्छु ।’
बुढा मान्छे भित्र पसे । पानी पाउने आशामा बटुवाको तिर्खा झनै चर्कियो ।
उसले आँखा कौशीतिर गाड्यो- “कतिबेला पानी आउला र घटघट पिउँला !”
तर पर्खिंदा पर्खिंदा लामो समय बित्यो, बुढा पनि विलाए पानी पनि आएन ।
बटुवाले ‘बुवा-बुवा !’ भनेर बोलायो तर कुनै उत्तर आएन । गर्मी, तिर्खा र थकाइले आक्रान्त बटुवाको धैर्यको डोरो चुँडिन थाल्यो । अनि मनमनै फतफताउन थाल्यो-
“कस्तो निष्ठुरी बुढो ! गर्मीले अतालिएको अनि तिर्खाले ब्याकूल भएको बेला पानी पिलाउने आशा देखाएर बाटो रोकेको मन्छेले, न त पानी ल्यायो न त केही खबर गर्यो। बरु चुपचाप हिंडेको भए अहिले सम्ममा कति पर पुगिसक्थें होला१बाटो मै धारो पो भेटिन्थ्यो कि पानी पिउने !”
“फटाहा, झुटो सहानुभूतिको नाटकी, नौटङ्की बुढो !”
निराश मनस्थितिमा बटुवा बाटो तताउने सुर के कँस्दै थियो, त्यहीबेला कौशीबाट उही बृद्धको मधुर आवाज पुनः आयो- ‘बाबु, माफ गर्नुहोला । तपाईंलाई धेरै पर्खाएँ ।” बुढा घरभेटी हातमा गिलास र आमखोरा बोकेर तल झर्दै, “सर्वत बनाउने सोचें, चिनी खोज्न अलि समय लाग्यो, अनि कागति टिप्न पछाडि पट्टिको बारी तिर पुगे—त्यही भएर ढिला भयो ।’ भने ।
कठोर र आलोचक बनेको बटुवाको मन एकाएक पग्लिएर आयो-
“धिक्कार छ मलाई१ कुरै नबुझी यस्तो सज्जनलाई मैले के(के भनेर गाली गरेँ ! म पनि कति अधैर्य !”
बुढा बटुवाको अगाडि आइपुगे ।
‘बाबु, ल लिनुस् पानी !’ गिलास बढाउँदै उनले आमखोराबाट गिलासमा पानी खन्याइदिए ।
तिर्खाले अतालिएको बटुवा सर्वत ठानेर घटाघट पिउन थाल्यो । पिउँदा त सर्वत नभएर कोरा पानी मात्र भएको पायो । ‘धत् ! यत्रो गफ, यत्रो समय, अन्त्यमा त खाली पानी ! बेलामै पानी दिएको भए, म त अहिलेसम्म परै पुगिसक्थें१ किन नाटक रचेर अर्कोलाइ अल्मलाइ रहनू !” भन्दै उसले फेरि बुढालाई मनमनै गाली गर्न थाल्यो ।
त्यसैबेला वृद्धले खोल्तिबाट एउटा सानो पोको निकाल्दै भने-
‘पर्खनुस् बाबु, यो चिनी हो, अनि यो कागति । अहिले निचोरेर राखिदिन्छु। आजकल धेरैलाई सुगरको कारण चिनी खान नमिल्ने हुन्छ, त्यसैले तपाईंको इच्छाअनुसार मिसाएर खानुहोला भनेर पानी, चिनी र कागति छुट्टाछुट्टै ल्याएको हुँ ।’
त्यो सुनिसकेपछि बटुवा छाँगाबाट खसेजस्तै भयो । उसको शरीरभन्दा बढी मन पसिनाले भिज्यो ।
“ओहो ! कस्तो सोच ! म मान्छे उही हुँ, यी बुढामान्छे उनै हुन तर यिनलाई म क्षणमै सज्जन देख्छु, क्षणमै दुर्जन ठान्दछु । यस्तो असल आत्मालाई पनि दोष लगाउन कत्ति बेर लाग्दैन मलाई ।
(अधिकारी नेपाल सरकारका पूर्वसचिव हुन् ।)
