काठमाडौँ। मे १ अर्थात् मे दिवस । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, यसपालि पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष यो दिवस मनाए पनि श्रमिकका पक्षमा नेपालमा खासै काम हुन सकेको छैन ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको माग गर्दै सुरु गरिएको मजदुर आन्दोलनको सम्झनास्वरूप विश्वभर यो दिवस मनाउने गरिन्छ । हरेक वर्ष मे महिनाको पहिलो दिन मनाउने भएकाले यसलाई ‘मे दिवस’ भनिएको हो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गर्यो र त्यसयता १८९० बाट विश्वभर श्रमिक दिवस मनाउन सुरु गरिएको हो । नेपालमा २००३ सालमा विराटनगर जुट मिलबाट श्रमिकको आन्दोलन सुरु भएको हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि ‘मे दिवस’ विशेष पर्वका रूपमा मनाउन थालियो । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।
