काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्युजिल्याण्ड एक अर्का संग प्रतिस्पर्धा गर्दै छन्। भारत र न्युजिल्याण्डले ५० ओभरको प्रतियोगितामा च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा स्थान बनाई सकेका छन् र आइतवार दुबईमा समूह ए को विजेता हुन एक अपसमा भिड्नेछन्। पाकिस्तानविरुद्धको जितपछि भारत ६ दिनको खेलको विश्रामपछि खेलमा प्रवेश गर्नेछ ।
समूह ए अन्तर्गतको सो खेल दिउँसो पौने ३ बजेदेखि यूएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुवै टोली समूहविजेता बन्ने दाउमा हुनेछन् ।
आजको खेलपछि सेमिफाइनल समीकरण पनि पूरा हुनेछ । सेमिफाइनल खेल्ने चार टोलीको टुंगो भइ सकेता पनि सेमिफाइनल खेल्ने प्रतिस्पर्धीहरुको निर्णय आजको नतिजाबाट हुनेछ।
खेलमा भारत विजयी भएमा समूह ए विजेताको रूपमा सेमिफाइनल खेल्ने छ । यसो भएमा भारतको भेट सेमिफाइनलमा समूह बी को उपविजेता अस्ट्रेलियासँग हुनेछ । न्युजिल्याण्डले समूह बी को विजेता दक्षिण अफ्रिकासँग खेल्नेछ ।
न्युजिल्याण्डले भारतलाई हराएमा भने भारतको भेट दक्षिण अफ्रिका हुनेछ भने न्युजिल्याण्डले अस्ट्रेलियासँग खेल्ने छ । भारत संलग्न हुने सेमिफाइनल खेल दुबईमा हुनेछ भने अर्को सेमिफाइनल पाकिस्तानको लाहोरमा हुनेछ ।
