काठमाडौं । सरकारले देशभरका विभिन्न स्थानीय तहमा निमित्त भइ कामकाज गरिरहेका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ । सरकारको निर्णयसँगै देशभरका १३ स्थानीय तहमा आर्थिक र प्रशासनिक अधिकार लिएर निमित्त बनेकाहरुको जिम्मेवारी रद्द भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रीस्तरीय निर्णय बिहीबारबाट कार्यान्वयनमा ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिए । धनुषा, सप्तरी, सिरहा, महोत्तरी, मुगु, अछाम, जाजरकोट, खोटाङ, बझाङ र हुम्ला लगायतका नगरपालिका र गाउँपालिकामा झण्डै ८ महिनादेखि निमित्तकै भरमा कामकाज भइरहेको थियो ।
पदीय दुरुपयोग हुन थालेपछि त्यसलाई रोक्न यस्तो निर्णय गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
ती अधिकारीका अनुसार देशभरका १३ जना निमित्तलाई जिम्मेवारीबाट हटाइएको छ ।
‘यसअघिका मन्त्रीले राख्न दिएकालाई हामी मन्त्रालयमा आएलगत्तै एउटा नीतिगत निर्णय गरेका थियौं ।’ ती अधिकारीले भने ‘सकभर निमित्त नदिने, दिनै परे सिनियरलाई दिने ।’
ती अधिकारीले भने– ‘के चलन चलाएछन् भने सिनियरबाट म चलाउन सक्दिन भनेर लेखाइदिने, अनि सिनियरभन्दा ६र७ जना तलको कर्मचारीलाई दिने गर्दा रहेछन्। त्यो चलन आजबाट हटायौं।’
