२०८३ श्रावण ११ गते सोमवार

images

काठमाडौँ महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान

काठमाडौँ महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान

सहर्ष न्युज
सोमवार, पौष १ २०८१
सहर्ष न्युज
सोमवार, पौष १ २०८१
  • काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ‘पार्टनरसिप फर हेल्दी सिटिज’ (पहल) को सहकार्यमा महानगर क्षेत्रभर वायु गुणस्तर निगरानी उपकरण जडान सुरु गरेको छ ।

    महानगरको मुख्य कार्यालयमा एक समारोहका बीच उपमेयर सुनिता डङ्गोलले आज सो कार्यको औपचारिक उद्घाटन गर्नुभयो । उपमेयर डङ्गोलले उपकरण जडान पश्चात वास्तविक तथ्याङ्क प्रयोग गरी सूचित नीतिहरू बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगरपालिकालाई सहयोग पुग्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “काठमाडौँमा वायु प्रदूषण घटाउन यो महत्वपूर्ण यात्राको सुरुवात हो ।” महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वायु प्रदूषण विरुद्ध लड्न महानगरपालिकाको प्रतिबद्धताअनुसार उपकरण जडान थालिएको उल्लेख गर्नुभयो । महानगरले छिट्टै सवारीसाधन प्रदूषण जाँच थालनी गर्ने तयारी गरेको तथा फोहोर जलाउनेलाइ कडा कारबाही गरिएको उहाँले जानकारी गराउनुभयो ।

    कार्यक्रममा परियोजना प्रमुख इन्जिनियर सञ्जीव पाण्डेले वायु गुणस्तर उपकरणको प्राविधिक पक्षका बारेमा जानकारी गराउँदै जडान पश्चात सम्पूर्ण तथ्याङ्कमा महानगरवासी सुसूचित हुने बताउनुभयो ।

    यस परियोजनाअन्तर्गत, महानगरले १८ वटा ‘क्ल्यारिटी नोड-एस’ वायु गुणस्तर ‘सेन्सर’ स्थापना गर्दैछ । यसले वायुमा रहेको ‘पीएम २।५’ को वास्तविक समयको डाटा प्रदान गर्नेछ । पीएम २.५ भनेको वायुमण्डलमा पाइने साना धुलोका कणहरू हुन्, जसले फोक्सो र रक्तप्रवाहमा गहिरो असर गर्न सक्दछन् ।

    यसले श्वासप्रश्वास र हृदयसम्बन्धी रोग उत्पन्न गराउनुका साथै दम, एलर्जी र फोक्सोको क्यान्सर जस्ता समस्या निम्त्याउँछ । विशेष गरी बालबालिका, वृद्धवृद्धा र पहिल्यै रोग भएका व्यक्तिहरू यसबाट बढी प्रभावित हुन्छन् । यी प्रविधिगत उपकरण सौर्य ऊर्जाबाट चल्ने र ‘इनबिल्ट डेटा कनेक्टिभिटी’सहित छन्, जसले वास्तविक समयको डेटा महानगरको केन्द्रीय ‘ड्यासबोर्ड’मा पठाउने छन् ।

    ‘स्वच्छ र सफा महानगर अनि स्वस्थ महानगरवासी’ को उद्देश्यलाई आत्मसात गर्दै महानगरपालिकाले वायुप्रदूषण नियन्त्रण र वातावरणीय सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend