२०८३ श्रावण १० गते आइतवार

images

सेवा निवृत हुनुभएकी विद्यालयका शिक्षिकालाई एक लाखको सुनको तक्मा दिएर भब्य बिदाइ

सेवा निवृत हुनुभएकी विद्यालयका शिक्षिकालाई एक लाखको सुनको तक्मा दिएर भब्य बिदाइ

सहर्ष न्युज
शुक्रवार, मंसिर २१ २०८१
सहर्ष न्युज
शुक्रवार, मंसिर २१ २०८१
  • नेपालगन्ज । बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विद्यालयले सेवानिवृत्त हुनुभएकी विद्यालयका एक शिक्षिकालाई एक लाख रुपियाँको सुनको तक्मा दिएर बिदाइ गरेको छ । सो विद्यालयका शिक्षिका पदमा शर्मालाई सुनको तक्मासहित भव्य समारोहकाबिच बिदाइ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमसरा भण्डारीले बताउनुभयो ।

    उहाँले गत ३६ वर्षदेखि सोही विद्यालयमा अध्यापनरत शिक्षिका शर्मालाई बिदाइ गर्न ठुलो सङ्ख्यामा अभिभावक र विद्यार्थी भेला भएको बताउनुभयो ।

    २०४५ साल भदौ १२ गतेदेखि ज्ञानोदयमा अस्थायी शिक्षकका रूपमा सेवा प्रवेश गर्नुभएका शर्माले २०४८ सालमा स्थायी भई २०८१ कात्तिक ३० गते सेवानिवृत्त हुनुभएको हो ।

    झण्डै चार दशक शिक्षकका रूपमा निरन्तर सेवारत शर्माको बिदाइमा विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारी परिवारले गरेको यो सम्मानले शिक्षक वर्गकै गरिमा बढाएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताउनुभयो ।

    उहाँले समाजमा शिक्षण पेशाप्रति बढ्दै गइरहेको निराशालाई पनि यसले उत्साहमा परिणत गर्न सहयोग पुर्याएको बताउनुभयो ।

    उहाँका अनुसार विद्यालय व्यवस्थापन समितिले सेवा निवृत्ति शिक्षक शर्मालाई एक लाख बराबरको सुनको तक्मा लगाएर भव्य कार्यक्रमका बिच सम्मानपूर्वक बिदाइ गरेको हो । प्रधानाध्यापक सापकोटाले शर्माको शैक्षिक योगदानको चर्चा गर्दै उहाँ हजारौं विद्यार्थी र अभिभावकको प्रिय रहनुभएको बताउनुभयो ।

    विद्यालयले शिक्षक शर्माको संक्षिप्त जीवन उल्लेखित ताम्रपत्रसमेत प्रकाशन गरेको छ । एक लाखको सुनको तक्माबाहेक शिक्षक, कर्मचारीहरूको एकदिनको तलबबाट सङ्कलित ६५ हजार बराबरको सुनको गहनाले पनि शर्मालाई शिक्षक, कर्मचारी परिवारले सम्मान गरेको छ ।

    सो अवसरमा शिक्षक शर्माको जीवनी वाचन गर्दै ज्ञानोदयका सहायक प्रधानाध्यापक यमनारायण महतराले भूतपूर्व विद्यार्थीहरूको तर्फबाट मायाको चिनो प्रदान गरिएको बताउनुभयो । खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले सुनको तक्मा लगाउनुका साथै ताम्रपत्र र गहना प्रदान गरेर शर्माको बिदाइ गर्नुभयो । सो कार्यक्रममा वडाध्यक्ष पूर्णबहादुर भण्डारी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष मानबहादुर भण्डारीलगायतले उहाँको शैक्षिक योगदानको चर्चा गर्नुभएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend