२०८३ श्रावण १२ गते मंगलवार

images

हनी ट्रयाप प्रकरणमा इन्सपेक्टर शाहीलाई मुद्दा चलाउन सिफारिस, एसपी थापा कारवाहीको सिफारिसमा परेनन्

हनी ट्रयाप प्रकरणमा इन्सपेक्टर शाहीलाई मुद्दा चलाउन सिफारिस, एसपी थापा कारवाहीको सिफारिसमा परेनन्

सहर्ष न्युज
बुधवार, मंसिर ५ २०८१
सहर्ष न्युज
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले इन्सपेक्टर बिनु कुमारी शाहीलाई मुद्दा चलाउन सिफारिस गरेको छ । सोही काण्डमा मुछिएका एसपी कमल थापालाई भने सीआइबीले जोगाएको छ । ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको घटनामा इन्स्पेक्टर शाहीलाई पनि प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको हो । इन्स्पेक्टर शाही समेत हनि ट्रापिङ गिरोहमा मिलेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

    सोही अनुरुप करिब दुई महिना लामो अनुसन्धानपछि मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पुगेको छ। तर एसपी थापाको हकमा भने प्रतिवेदनमा केही उल्लेख छैन । उनी पनि गिरोहका सदस्यहरुसँग सम्पर्कमा रहेको भन्दै सिआइबीले अनुसन्धान गरेको थियो ।

    जसमा इन्स्पेक्टर शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिआइबीले सिफारिस गरेको हो। जसमा दुई जना अझै फरार छन् । गिरोहका नाइके ताज इस्लाम, उनका सहयोगी सुष्मा विक र भिमादेवी थापा तथा प्रहरी हवल्दार महेन्द्र हमाल थुनामै रहेका छन् ।

    सिआइबीले इन्सपेक्टर बिनु कुमारी शाहीलाई मुद्दा चलाउन सिफारिस गर्दै एसपी कमल थापालाई भने जोगाएको छ।

    निलम्बित इन्स्पेक्टर शाही र इटहरीका दर्शन पोखरेललाई फरार प्रतिवादी बनाइएको छ । यस्तै सो प्रकरणमा जोडिएका एसपी कमल थापा भने तत्कालका लागि जोगिएका छन् । उनीमाथि थप अनुसन्धान हुने सिआइबीले जनाएको छ।

    दुई महिनाअघि प्रहरी प्रभाग भैंसेपाटीमा जग्गा व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलिएको थियो। यसमा मुछिएका एसपी कमल थापासँग सिआइबीले बयान कागज गरेको थियो । सरकारी वकिल कार्यालयको निर्देशनमा प्रहरीले उनको बयान कागज गरेको हो।

    गत ७ असोजमा ललितपुरको भैंसेपाटी प्रभागमा मोरङका एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलिएको थियो। जसमा प्रभागकी तत्कालीन प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीको समेत मिलेमतो थियो ।

    उनी महेन्द्रनगर कंचनपुरमा हुँदा पनि विवादित बनेकी थिइन् । निलम्बनमा परेकी उनी डेढ महिनादेखि फरार रहेपनि प्रहरीले अनुसन्धान तथा पक्राउ गर्नेबारे चासो दिइएको छैन । उनीविरुद्ध संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धान भएको थियो ।

    इन्सपेक्टर शाहीसहित दोषी देखिएपनी कारबाहीको दायरामा भने आउन सकेका छैनन् । सोही प्रकरणमा एसपी थापाले नै ताज इस्लामको समूहलाई इन्सपेक्टर शाहीसँग भेटाएका थिए ।

    पैसा लेनदेनपछि पनि इस्लाम र एसपी थापाबीच डेढ घन्टा कुराकानी भएको खुलेको थियो। जसकारण उनको समेत यसमा योजना देखिएको थियो। साथै गत जेठमा ठेकदार विदुर शर्मालाई दरबारमार्ग वृत्तमा त्यसैगरी फसाइएको घटनामा समेत उनको मिलेमतो देखिएको प्रहरी स्रोतले जनाएको थियो।

    गत ७ असोजमा प्रहरी प्रभाग भैँसेपाटीमा इटहरीका एक व्यवसायीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको थियो। इटहरीकै सुष्मा विकसँग ती व्यापारी केही महिनाअघि इलाम घुम्न गएका थिए। तिनै युवतीलाई कुटपिटको उजुरी हाल्न लगाई बलात्कार मुद्दा चलाउने भन्दै प्रहरी कार्यालयमै बार्गेनिङ भएको थियो ।

    प्रभागकी तत्कालीन प्रहरी प्रमुख इन्स्पेक्टर शाहीको समेत त्यसमा मिलेमतो देखिएपछि उनीहरूविरुद्ध डेढ महिनाअघि नै पक्राउ पुर्जी जारी भएको थियो। तर, प्रहरीले माथिल्लो निकायको आदेश नभएको भन्दै उनलाई पक्राउ गरेन। उनको निर्देशनमा काम गर्ने हवल्दार हमाललाई भने थुनामा राखिएको छ।

    ‘हनी ट्रयापिङ’को गिरोहसँग मिलेर पैसा असुलिएको घटना जिल्ला प्रहरी परिसर, ललितपुरले थाहा पाएपछि पक्राउ परेका र पीडित पक्ष सबैलाई झिकाएर छानबिन सुरु भएको थियो। उक्त घटनामा प्रहरीको मिलेमतो पुष्टि भएपछि अनुसन्धान हुँदै कारवाही अगाडि बढाइएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend