२०८३ भाद्र २८ गते आइतवार

images
  • विकास
  • हेटौंडा-ढल्केबर-इनरुवा...

हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा

हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा

सहर्ष न्युज
शनिवार, आषाढ २९ २०८१
सहर्ष न्युज
शनिवार, आषाढ २९ २०८१
  • सहर्ष न्युज, काठमाडौं । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएको छ ।

    धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका साढे सात बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो। ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएसँगै मुख्य रुपमा कोशी प्रदेशका तराईका जिल्लाहरुमा विद्युत् आपूर्तिको भोल्टेज सुधार गर्न, समग्रमा देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापारको परिमाण बृद्धि गर्न महत्वपूर्ण उपलब्धी हासिल भएको बताए। प्रसारण लाइनले करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्दछ।

    प्रसारण पूर्वाधार तयार नभएकाले हाल सञ्चालमा रहेको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हुने विद्युत् आयात-निर्यात परिमाण अब बढाउन सकिने कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे। अहिले दुई देशबीचको विद्युत् आयात निर्यात परिमाण ८०० मेगावाट मात्र छ।

    उनले कोशी करिडोर हुँदै इनरुवा सबस्टेसनमा आएको विद्युत्लाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर-इनरुवा प्रसारण लाइनमार्फत ढल्केबर ल्याएर भारतर्फ निर्यात गर्न पनि सकिने बताए।

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ स्थित थानाभर्‍याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म २८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरू गरिएको थियो। प्रसारण लाइनलाई हेटौंडा-ढल्केबर १३४ किलोमिटर र ढल्केबर-इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ। हेटौंडा-ढल्केबर खण्ड निर्माणाधीन छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend