२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न...

नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन

नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन

सहर्ष न्युज
बुधवार, चैत्र २५ २०८२
सहर्ष न्युज
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहलाई उच्च प्राथमिकता दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत देशभरका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

    महानिरीक्षक कार्कीले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा प्रदान गर्न निर्देशन दिनुभयो । उहाँले कुनै पनि प्रभाव वा प्रलोभनमा संलग्न बिचौलियालाई तत्काल कानुनी दायरामा ल्याई बिचौलिया रहित, कानुनसम्मत र पारदर्शी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रहरी सेवालाई थप प्रभावकारी बनाउन प्रत्येक कार्यालयले नागरिक सहजकर्ताको व्यवस्था गर्नुपर्ने र भए गरेका प्रगति विवरणको सूचना सेवाग्राहीलाई एसएमएस मार्फत जानकारी गराउन उहाँले निर्देशन दिनुभयो । “शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानुनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष एवं गुनासोरहित सेवा प्रवाह गर्न सबै प्रहरी कर्मचारी सदैव कटिबद्ध हुनुपर्छ,” महानिरीक्षक कार्कीले भन्नुभयो ।

    अपराध अनुसन्धानका क्षेत्रमा वस्तुनिष्ठ र पारदर्शी ढङ्गले काम गर्न निर्देशन दिँदै उहाँले सीमा नाकामा हुने आपराधिक गतिविधि, गुण्डागर्दी, तस्करी र प्राकृतिक स्रोतको दोहनमा संलग्न विरुद्ध खरो रूपमा प्रस्तुत हुन प्रहरीलाई आग्रह गर्नुभयो।

    यसै गरी सम्भावित विपद्जन्य घटनामा जनधनको क्षति न्यूनीकरणका लागि विशेष सतर्कता अपनाउन र पूर्वअभ्याससहित तयारीमा जुट्न समेत उहाँले निर्देशन दिनुभयो । भीड नियन्त्रण तथा व्यवस्थापनमा विगतका कमी–कमजोरीलाई सुधार गर्दै बल प्रयोगको सिद्धान्तलाई कडाइका साथ पालना गर्न र व्यावसायिकता प्रदर्शन गर्न उहाँको आग्रह थियो ।

    सो अवसरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी लगायतका उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend