काठमाडौं : विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएका छन्। बालेन्द्र साह (बालेन) नेतृत्वमा शुक्रबार गठन गरिएको मन्त्रिपरिषद्मा श्रेष्ठले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित ४४ वर्षीय श्रेष्ठले पछिल्लो निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीलाई २१ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए। उनले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दा सायमीले ३ हजार २ सय १७ मत मात्रै पाएका थिए। यसअघि २०७९ को निर्वाचनमा पनि श्रेष्ठले सोही क्षेत्रमा सायमीलाई हराएका थिए।
विवेकशील साझा पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ बागमती प्रदेश सभा सदस्य हुँदै संघीय सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत बनिसकेका छन्। ‘बिजनेस एड्मिनिस्ट्रेसन’मा स्नातक गरेका उनले सुरुवाती चरणमा होटल तथा रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनामा काम गरेका थिए।
२०७२ सालको भूकम्पपछि उनले नेतृत्व गरेको स्वयंसेवक समूहले राहत संकलन तथा वितरणसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेपछि उनको सार्वजनिक छवि थप बलियो बनेको थियो। त्यसपछि उनले ‘फोर्स नेपाल’ संस्थामार्फत वातावरण संरक्षण अभियान सञ्चालन गर्दै ‘वान ट्री–मेरो जिम्मेवारी’ जस्ता कार्यक्रम अघि बढाएका थिए।
२०७४ अघि उज्ज्वल थापा सँगै विवेकशील साझा अभियानमा सक्रिय भएका श्रेष्ठ समानुपातिक प्रणालीबाट बागमती प्रदेश सभा सदस्य बनेका थिए। उनले आफ्नो कार्यकालमा नियमित रूपमा कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गर्ने अभ्यास स्थापित गरेका थिए।
प्रदेश सभामा रहँदा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिन महत्वपूर्ण भूमिका खेलेका उनले गुठी विधेयकविरुद्ध सडक र संसद् दुवैमा सशक्त आवाज उठाएका थिए।
विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्र सँग वैचारिक मतभेद भएपछि उनी पार्टीबाट अलग भएका थिए। २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका श्रेष्ठले १० हजारभन्दा बढी मत ल्याएर जित हासिल गरेका थिए।
संघीय संसद्मा रहँदा सुशासन र खेलकुद क्षेत्र सुधारमा सक्रिय देखिएका श्रेष्ठ छोटो कार्यकालका लागि युवा तथा खेलकुद मन्त्री हुँदा खेलकुद क्षेत्र सुधार र खेलाडीहरूको मनोबल बढाउने पहलका कारण ‘काम गर्न सक्ने युवा’ नेताका रूपमा परिचित बनेका छन्।
