सुष्मा सापकोटा, गोरखा : गोरखाको अजिरकोट गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित घोडा पर्यटन कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। अब पालिकाका प्रमुख पर्यटकीय स्थलहरू घोडा चढेर अवलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई फरक र आकर्षक अनुभव मिल्ने अपेक्षा गरिएको छ।
अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाका अनुसार भच्चेक बजारदेखि अजिरकोट डाँडा, नम्की, सिरानडाँडा, नागेपोखरी, दूधपोखरीलगायतका प्रमुख आकर्षक गन्तव्यसम्म घोडा सवारीको व्यवस्था गरिनेछ।
पर्यटन विकासलाई प्राथमिकतामा राख्दै नयाँ कार्यक्रम अघि बढाइएको उल्लेख गर्दै अध्यक्ष देवकोटाले भने, “पालिकामा आउने पर्यटकलाई लक्षित गरी सेवा र सुविधा विस्तार गर्दै आएका छौँ। त्यही योजनाअन्तर्गत घोडा सवारी कार्यक्रम ल्याइएको हो।”
पालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीका अनुसार कार्यक्रम सञ्चालनका लागि साझेदारीमा जान इच्छुक व्यवसायी, समूह तथा संस्थाबाट आवेदन आह्वान भइसकेको छ। “१५ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिएका इच्छुक पक्षसँग छलफल गरी दिगो मोडालिटी तयार पारेर चालु आर्थिक वर्षबाटै कार्यक्रम लागू गरिनेछ,” उनले बताए।
गाउँपालिकाले कार्यक्रम सञ्चालनका लागि कार्यविधि तयार गरिसकेको छ भने व्यवसायी छनोटका लागि प्रमुख प्रशासकीय अधिकृत पन्थीको संयोजकत्वमा समिति गठन भइसकेको छ। कार्यविधिका आधारमा छनोट भएका व्यवसायीले घोडा खरिदमा पालिकाबाट ५० प्रतिशत अनुदान पाउने व्यवस्था गरिएको छ।
यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। घोडा सवारीसँगै पर्यटकीय स्थलसम्म पुग्ने घोरेटो बाटो स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणका काम पनि अघि बढाइने जनाइएको छ।
कार्यक्रम कार्यान्वयनमा आएपछि स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै अजिरकोटको पर्यटन गतिविधि थप सक्रिय हुने विश्वास गाउँपालिकाले लिएको छ।
