काठमाडौं। मार्भल सिनेम्याटिक युनिभर्सका फ्यानहरूका लागि यो वर्षको सबैभन्दा ठूलो क्रिसमस गिफ्ट आएको छ! मार्भल स्टुडियोले ‘अभेंजर्स: डूम्सडे’को पहिलो आधिकारिक टिजर सार्वजनिक गरेको छ, जसमा क्रिस इभान्स फेरि स्टिभ रोजर्सको भूमिकामा फर्किने पुष्टि भएको छ।
टिजरमा स्टिभ रोजर्सलाई मोटरसाइकलमा घर फर्किंदै, आफ्नो पुरानो क्याप्टेन अमेरिका सूटलाई नोस्टाल्जिक रूपमा हेर्दै र एउटा नवजात शिशुलाई काखमा लिएर मुस्कुराउँदै देखाइएको छ। यो दृश्यले ‘अभेंजर्स: एन्डगेम’ (२०१९) मा स्टिभले पेगी कार्टरसँग बिताएको शान्त जीवनलाई सम्झाउँछ। टिजरको अन्त्यमा स्पष्ट रूपमा लेखिएको छ: “स्टिभ रोजर्स अभेंजर्स: डूम्सडेमा फर्किंदैछन्।”
यो फिर्ती निकै सरप्राइजपूर्ण छ किनकि ‘एन्डगेम’मा स्टिभले शिल्ड स्याम विल्सन (एन्थोनी म्याकी) लाई सुम्पेर सुपरहिरो जीवनबाट सन्यास लिएका थिए। तर अब डक्टर डूम (रोबर्ट डाउनी जुनियर) को खतरा सामना गर्न उनी फेरि उठ्ने देखिन्छ। टिजरले स्टिभको पारिवारिक जीवन (शिशु र वैवाहिक औंठी) लाई हाइलाइट गरेको छ, जसले फिल्ममा नयाँ इमोसनल लेयर थप्ने अपेक्षा गरिएको छ।
यो टिजर ‘अभेंजर्स: डूम्सडे’को पहिलो चार टिजरमध्ये एक हो। आउँदा हप्ताहरूमा थोर, डक्टर डूम र अन्य क्यारेक्टरहरूमा केन्द्रित टिजरहरू आउने बताइएको छ। फिल्ममा रोबर्ट डाउनी जुनियर डूमको भूमिकामा छन्।
रुसो ब्रदर्स (जो र एन्थोनी) ले निर्देशन गरेको यो फिल्म २०२६ डिसेम्बर १८ मा रिलिज हुँदैछ। फ्यानहरू स्टिभ रोजर्स र डूमबीचको सम्भावित कन्फ्रन्टेसनलाई लिएर उत्साहित छन्। यो समाचारले मार्भल फ्यानहरूलाई नयाँ वर्षअघि नै ठूलो उत्साह दिएको छ।
