२०८३ श्रावण १० गते आइतवार

images

आठ महिनापछि उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालन

आठ महिनापछि उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालन

सहर्ष न्युज
बिहिवार, मंसिर १२ २०८२
सहर्ष न्युज
बिहिवार, मंसिर १२ २०८२
  • गाईघाट । आठ महिनादेखि पूर्ण रूपमा बन्द रहेको उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ। विगतमा पटक–पटक बन्द हुँदै आएको यो सरकारी स्वामित्वको ठूलो औद्योगिक प्रतिष्ठान मन्त्रीपरिषद्ले २०८२ वैशाख १५ गते निजीकरणको निर्णय गरेपछि निरन्तर बन्द थियो। मर्मत–सम्भार पूरा गरेपछि उद्योग पुनः चलाइएकाे उद्योगका महाप्रबन्धक कोविद काफ्लेले जानकारी दिए।

    उद्योग बन्द हुँदा आठ महिनादेखि कर्मचारीलाई तलब–सुविधा दिनसमेत नसकेको उद्योग प्रशासनले जनाएको छ। सुरुमा ५३३ कर्मचारीको दरबन्दी रहेको उद्योगमा हाल १९३ स्थायी कर्मचारी मात्र कार्यरत छन्। साथै ६० जना सेक्युरिटी गार्ड बाह्य कम्पनीमार्फत्थपिएका छन्, तर उनीहरूले समेत पछिल्ला महिनाहरू तलब पाएका छैनन्।

    महाप्रबन्धक काफ्लेका अनुसार निजीकरण प्रक्रियाबाट उत्पन्न अन्योलका बीच मजदुर, कर्मचारी र वर्तमान सरकारको सहयोगले उद्योग पुनः सञ्चालनमा ल्याइएको हो। उद्योग दीर्घकालीन रूपमा स्थिर रूपमा चलाउनका लागि सरकारले २४ करोड रुपैयाँ ऋण उपलब्ध गरिदिन अनुरोध गरिएको छ। ऋण ब्याजसहित तीन वर्षभित्र फिर्ता गर्ने प्रस्ताव गरिएको उनले बताए।

    उदयपुरको त्रियुगा नगरपालिका–६, जलजलेमा रहेको यो उद्योग दक्षिण एसियामै उच्च गुणस्तरको खानी भण्डार भएको उत्पादन एकाइ मानिन्छ। यसको क्षमता दैनिक ८०० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने रहे पनि पुराना मेसिनरीका कारण क्षमता अनुसार उत्पादन हुन सकेको छैन। उद्योग बारम्बार बन्द हुँदा दैनिक लाखौँ घाटा व्यहोर्नु परेको काफ्लेले उल्लेख गरे।

    उद्योगकाे करोडौँ रुपैयाँ दायित्व भए पनि नियमित सञ्चालनमार्फत् ती दायित्व क्रमशः घटाउँदै लैजाने तयारी गरिएको उद्योग प्रशासनले जनाएको छ। जेनजी आन्दोलनपछि उठेको स्थानीय जेनजी समूहले पनि उदयपुर सिमेन्ट उद्योग निजीकरण नगरी राज्यले नै सञ्चालन गर्नुपर्ने माग राख्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend