२०८३ भाद्र २७ गते शनिवार

images

केपी ओलीको सत्ता मोह ‘रिजेक्टेड’ प्रेमीको रुवाइजस्तै भएको जेनजी संयोजक बमको दाबी

केपी ओलीको सत्ता मोह ‘रिजेक्टेड’ प्रेमीको रुवाइजस्तै भएको जेनजी संयोजक बमको दाबी

सहर्ष न्युज
बुधवार, मंसिर ११ २०८२
सहर्ष न्युज
बुधवार, मंसिर ११ २०८२
  • काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता मोह देखाएको आरोप लगाएकी छिन्। संयोजक बमले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले दल दर्ता गरेपछि कडा प्रतिक्रिया दिँदै यस्तो बताएकी हुन्।

    उनले एमाले ‘अर्को भाग पाइहालिन्छ कि’ भनेर दल दर्तामा गएको तर्क गरेकी छिन्। तर लोकतान्त्रिक बाटो अपनाएको भन्दै ‘शंकाको सुविधा’ सहित स्वागत गर्नुपर्ने तर्क उनको छ। उनले भदौ २३ को तानाशाही घटनादेखि अहिलेसम्म लोकतन्त्र र संविधानमाथि निरन्तर हमला भइरहेको स्मरण गराउँदै जनताले दिएको म्यान्डेट सुशासन, भ्रष्टाचार छानबिन र लोकतान्त्रिक निकासका लागि भएको स्पष्ट पारेकी छन्। चुनाव नहुनु भनेको फेरि तानाशाहको पाउमा देशको बागडोर सुम्पनु भएको उनको चेतावनी छ।

    एमाले अध्यक्ष ओलीको सत्ता मोहलाई उनले व्यंग्य गर्दै भनेकी छन्, ‘सत्तासँगको ब्रेक अपपछि जनताले गरेको रिजेक्सन सहन नसकेर गुण्डुमा संसद् पुनर्स्थापनाको सुगा रटाई बम्किरहेका छन्। रिजेक्टेड प्रेमी जस्तै उनको रुवाइ छ।’ चुनाव हुन नदिएर देशलाई कुन शून्यतामा पुर्‍याउन खोजिँदैछ ? भनेर उनले प्रश्न पनि गरेकी छन्।

    यस्तो छ उनको फेसबुक स्टाटस
    "चुनाव हुन दिन्नौ !" - यो कसले किन भनिरहेको छ ? अनि कुन घमन्ड र शानका साथ भनिरहेको छ ? यसो भन्न उनीहरूलाई कसले हिम्मत दिलाइरहेको छ ? चुनाव हुन दिन्नौ भनिरहेकाहरूको संविधानबारे के धारणा छ ? मूल प्रश्न यतिखेर यो हुनुपर्छ ।  

    तत्कालीन सरकारको तानाशाहीपन जोगाउनका खातिर भदौ २३ मा जसरी सरकार निरङ्कुश बन्यो र त्यसपछि जे जस्तो अवस्था सिर्जना भयो, त्यो हामी सबैसामु प्रष्ट नै छ । लोकतन्त्र र संविधानमाथि त्यही बेला पनि हमला गर्न खोजिएकै हो । राज्यविहीनताको अवस्थामा समेत हामीले लोकतन्त्र भनिरह्यौँ । संविधान भनिरह्यौँ । र त्यसपछि बनेको नागरिक सरकारलाई हामीले प्रष्टसँग आन्दोलनको म्यान्डेट दिएका छौँ । हाम्रो म्यान्डेटले सुशासन र जवाफदेहिताको माग गर्दै भ्रष्टाचारको छानबिन, भदौ २३ र २४ का अपराधीलाई कारबाहीका साथै, संक्रमणकालीन अवस्थाबाट लोकतान्त्रिक निकास भनेर स्पष्ट रूपले भनेकै छ । र यतिखेर लोकतान्त्रिक निकासबाट पर हट्नु भनेको सिङ्गो देशले त्यसको भार खेप्नु हो । फेरि अर्को तानाशाहको पाउमा लगेर देशको बागडोर सुम्पनु हो ।  

    उसो त भदौ २३ अगाडिसम्म तानाशाही निरङ्कुशता देखाइरहेका केपी ओली पनि त सत्तासँगको ब्रेकअपपछि, जनताले गरेको रिजेक्सन सहन नसकेर गुण्डुमा संसद पुनर्स्थापनाको एकोहोरो सुगा रटाइ बम्किरहेकै छन् । रिजेक्टेड प्रेमी मधुशालामा बसेर रोएजस्तै छ उनको रुवाइ । एकातिर ‘नाई मलाई त्यही सत्ता चाहिन्छ’ वाला रुँचे आक्रोश छँदैछ तर अर्कोतिर एमालेले अर्को भाग पाइहालिन्छ कि भनेर दल दर्ता गराएको छ । यो कुराको लागि लोकतान्त्रिक बाटो अवलम्बन गरेकोमा भने एमालेलाई शंकाको सुविधा सहित लोकतान्त्रिक यात्रामा स्वागत भन्नैपर्छ । त्यो बाहेक संक्रमणकालीन अवस्थालाई झन् अप्ठेरोमा पार्दै लोकतन्त्रलाई कमजोर बनाउन संविधानमा हमला गर्न चाहने जो जति छन्, तिनीहरू सबै यतिखेर चुनावको विपक्षमा छन् र अहिलेको सरकारलाई कमजोर बनाउन चाहिरहेका छन् ।  

    आखिर चुनाव हुन नदिएर कुन शून्यतामा मुलुकलाई पुर्‍याउन खोजिरहेका छन् उनीहरू ? ‘नाई मलाई त्यही सत्ता चाहिन्छ’ भन्ने ओलीहरू र ‘हामी चुनाव दिन्नौँ’ भन्ने जेनेरेसन जी साथीहरू तपाईंहरूलाई स्पष्ट होस्, हामी त लोकतन्त्र चाहन्छौँ । लोकतान्त्रिक निकास चाहन्छौँ । र देशलाई नयाँ जनादेशका साथ हाम्रो आवाज बोल्नेहरूलाई संसदमा जनताको आवाज प्रतिनिधित्व गरिरहेको हेर्न चाहन्छौँ ।  

    सबैले याद गरौँ - लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो ।  
    लोकतन्त्र - अमर रहोस् ।  
    गणतन्त्र - जिन्दावाद ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend