काठमाडौं । मेडिकल व्यवसायी तथा आफूलाई ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान’ का संयोजकका रूपमा परिचित गराउने दुर्गा प्रसाईं सोमबार मध्यराति पक्राउ परेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ।
प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन चर्काउने घोषणा गर्दै देशै ठप्प पार्ने खालका उग्र अभिव्यक्ति दिंदै आएका थिए। यसै कारण सुरक्षासम्बन्धी निकायले उनलाई ‘नोटिस’ मा राखेको थियो। आन्दोलनको तयारीकै क्रममा उनी पक्राउ परेका हुन्।
केही दिनअघि प्रसाईं समूहका प्रतिनिधि माधव खतिवडा २६ बुँदे मागसहित गृह मन्त्रालयमा वार्ताका लागि पुगेका थिए। प्रसाईं यसअघि दुईपटक साइबर कसुरसम्बन्धी मुद्दा तथा चैत १५, २०८१ को घटनामा मुख्य प्रतिवादीका रूपमा पक्राउ परे पनि तीनै मुद्दामा धरौटीमा रिहा भएका थिए।
यसैबीच, सरकारले प्रसाईंसहित अराजक तथा हिंसा भड्काउने खालका अभिव्यक्ति दिनेहरूविरुद्ध कडाइका साथ कानुनी कारबाही अघि बढाउन सक्ने संकेत दिएको थियो। आइतबार सिंहदरबारमा बसेको सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाको तयारीसँगै यतिबेला सार्वजनिक रूपमा आइरहेका उत्तेजक अभिव्यक्तिबारे गम्भीर छलफल भएको थियो।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले स्थिति भड्काउने सम्भावना भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने प्रस्ताव गरेका थिए। स्रोतका अनुसार बैठकमा दुर्गा प्रसाईंको नामै लिएर छलफल भएको थियो र हिंसा उक्साउने, नागरिकलाई आतंकित पार्ने गतिविधिमा संलग्नहरूलाई निस्तेज पार्ने गरी कडाइका साथ कानुनी कारबाही अघि बढाउने सहमति बनेको थियो।
