भदौ ०९ - काठमाडौँ । आर्सनलले शनिबार राती भएको खेलमा एस्टन भिल्लालाई २ - ० ले पराजित गरेको छ। पहिलो हाफमा आर्सनल पूर्ण रूपले सहज देखिएको थिएन।एस्टन भिल्लाले राम्रो काउन्टर खेल प्रस्तुत गरेका थिए। खेलमा आर्सनलका लागि गोल ६७औं मिनेटमा लिओनार्ड़ो ट्रोसार्डले पहिलो गोल गरेर गोलको खाता खोले। साकाको कट ब्याकमा ट्रोसार्डको सटले जाली चुम्यो। त्यसको दश मिनेट नबित्दै ७७औं मिनेटमा थोमस पार्टेले बक्स बाहिरबाट प्रहार गरेको सट एस्टन भिल्लाका भेट्रान गोल कीपर मार्टिनेजले रोक्न सकेनन्। यो जित संगै आर्सनलले दुई खेलमा छ अंक बटुलेको छ र लिग टेबलको तेस्रो स्थानमा चडेको छ। माथिका दुवै टोली म्यानचेस्टर सिटी र ब्राइट्नले पनि ६ - ६ अंक बटुलेका छन्। म्यानचेस्टर सिटी गोल डिफ्रेन्सले गर्दा अगाडी छ।
बितेका दुई सिजन आर्सनल लिग जित्न निकै नजिक पुगेको थियो। मिकेल अर्टेटाको टोलीलाई यस सिजन म्यानचेस्टर सिटीलाई चुनौती दिन सक्ने बलियो दावेदारको रूपमा हेरिएको छ। इंगलैंडका विंगर साकासंग धेरै आर्सनल फ्यानले आशा राखेका छन् भने आर्सनललाई दावेदारको रुपमा प्रस्तुत गर्न कप्तान मार्टिन ओडेगार्डले पनि निकै महत्वपूर्ण भूमिका खेल्नु पर्ने फ्यानहरुको बुझाइ छ।
