काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा एक महिलाले प्रसूति वार्ड नपुग्दै प्यासेजमै बच्चा जन्माएकी छिन्।
बालुवाटारकी काजोल पाण्डेले बिहीबार बिहान अस्पताल आइरहेकी बेला अचानक प्रसव पीडा बढेपछि प्रसूति कक्ष पुग्नुअघि नै प्यासेजमा बच्चा जन्माएकी हुन्। उनका आफन्तका अनुसार अस्पतालको प्रसूति कक्ष बाहिर ह्विलचेयर खोज्ने क्रममा नै बच्चा जन्मिएको हो।
घटनापछि अस्पतालका स्वास्थ्यकर्मी तुरुन्तै प्यासेजमा पुगेका थिए र प्राथमिक उपचार प्रदान गरी आमा र शिशुलाई सुरक्षित रूपमा प्रसूति कक्षमा पुर्याइएको अस्पताल स्रोतले जनाएको छ।
सुत्केरी पाण्डेले दोस्रो सन्तान जन्माएकी हुन्। अस्पतालका एक सुरक्षा गार्डका अनुसार यसअघि पनि प्रसूति वार्डमा नपुग्दै प्यासेजमै बच्चा जन्मिने घटनाहरू भएका छन्।
स्वास्थ्यकर्मीका अनुसार आमा र नवजात शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
