नेपालगन्ज : पश्चिम नेपालकै व्यस्त विमानस्थलमध्ये एक नेपालगन्ज विमानस्थलमा अत्याधुनिक सुविधा सम्पन्न नयाँ टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएको छ। विमानस्थलमा भन्सार, अध्यागमन, क्वारेन्टाइनजस्ता सुविधा उपलब्ध हुने यो भवनले अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार समेत समेटेको छ।
सम्झौताभन्दा तीन महिना अगाडि सम्पन्न
शर्मा एन्ड कम्पनीले २०७९ पुस १ मा तीन अर्ब नौ करोड रुपैयाँको लागतमा टर्मिनल भवन निर्माणको जिम्मा लिएको थियो। सम्झौता अनुसार आगामी २०८२ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, कम्पनीले तीन महिना अगावै काम सकाएको जनाएको छ।
निर्माण कम्पनीका व्यवस्थापक विनोद सुवेदीका अनुसार करिब ३०० जनाको जनशक्ति परिचालन गरी तीव्र गतिमा काम अघि बढाइएको थियो। उनका अनुसार असोज पहिलो साता हस्तान्तरणको योजना भए पनि मौसम र केही प्राविधिक कारणले प्रक्रिया तिहारपछिसम्म सारिएको हो।
हस्तान्तरणको तयारी
नेपालगन्ज विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले केही दिनभित्रै भवन हस्तान्तरण गरिने जानकारी दिए। ‘सम्झौता अवधिभन्दा तीन महिना अगाडि निर्माण सम्पन्न भएकाले चाँडै हस्तान्तरणको तयारी भइरहेको छ,’ उनले बताए।
दुई तल्लाको आधुनिक संरचना
दुई तल्लाको नयाँ टर्मिनल भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण पूर्वाधार समावेश गरिएको छ। विमानस्थलको अन्डरग्राउन्डमा सर्वसाधारणका लागि पसलसमेत सञ्चालनमा ल्याउने योजना छ।
सुवेदीले भवन अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न मिल्ने गरी डिजाइन गरिएको जानकारी दिँदै अध्यागमन र सुरक्षा निकायका लागि छुट्टै कार्यालय कक्षसमेत निर्माण गरिएको उल्लेख गरे।
अब अन्तर्राष्ट्रिय उडानको बाटो खुल्ने अपेक्षा
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामीले चार दशक पुरानो विमानस्थलको स्तरोन्नति भएपछि अब भारतको दिल्लीजस्ता सहरमा सीधा उडान माग बढाउने वातावरण बन्ने विश्वास व्यक्त गरे।
त्यस्तै, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अत्याधुनिक टर्मिनलको निर्माणले अन्तर्राष्ट्रिय उडानका लागि द्वार खोलेको बताए।
नेपालगन्ज विमानस्थल सन् १९८० (वि.सं. २०३७) मा निर्माण गरिएको हो। त्यसअघि विमानस्थल खजुरा क्षेत्रमा अवस्थित थियो। हाल यो विमानस्थलबाट काठमाडौँसहित कर्णालीका पहाडी जिल्लाहरूमा पनि नियमित उडान हुँदै आएको छ।
