रेसुङ्गा (गुल्मी) । दसैं, तिहार र छठजस्ता मुख्य चाडपर्वलाई लक्षित गरी गुल्मी जिल्लाका शहरी क्षेत्रदेखि विकट बस्तीहरूसम्म नेपाल सरकारले सहुलियत मूल्य पसल सञ्चालन गरेको छ।
नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाले तम्घास, बलेटक्सार, बाँझकटेरी र अर्खबाङ्गमा चार वटा बिक्री केन्द्रमार्फत सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो।
भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म सञ्चालन हुने यी पसलहरूबाट उपभोक्ताहरूले चार प्रकारका चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुटमा खरिद गर्न सक्नेछन्। अन्य माग भएका सामग्रीमा तेल र दाल प्रमुख रहेको सूचना अधिकारी राजाबाबु साहले जानकारी दिए।
उनका अनुसार जिल्लाका लागि हाल १,००० क्विन्टल चामल र चिनीको आपूर्ति भएको छ। दसैंमा मात्रै २८९.५ क्विन्टल चामल बिक्री भइसकेको छ।
सबैभन्दा धेरै बिक्री बाँझकटेरी डिपोबाट ९५ क्विन्टल भएको छ भने बलेटक्सार डिपोबाट ८९.५, अर्खबाङ्ग डिपोबाट ६४ र तम्घास डिपोबाट ४१ क्विन्टल चामल बिक्री भएको छ।
यी बिक्री केन्द्रहरूबाट गुल्मी र अर्घाखाँचीका कारागार, सहकारी संस्था, डिलर तथा सर्वसाधारणले खाद्यान्न खरिद गरिरहेका छन्।
डेढ दशकपछि पुनःस्थापित खाद्य कम्पनी सक्रिय
२०६४ सालमा विस्थापित भएको तत्कालीन खाद्य संस्थान २०८० सालको मंसिरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रूपमा पुनःस्थापित भएको हो। विगतमा तम्घासमा प्रमुख कार्यालय र मजुवा, चौरासीमा डिपोहरू थिए।
पछिल्लो वर्ष गुल्मी शाखाले चिनी र चामल गरी २,३३७.१० क्विन्टल खाद्यान्न बिक्री गरेको थियो, जसको मूल्य एक करोड ७१ लाख सात हजार ३४५ रुपैयाँ रहेको थियो।
तम्घास शाखाले सबैभन्दा बढी ८३९.२५ क्विन्टल खाद्यान्न बिक्री गर्दै ५९ लाख ५७ हजार रुपैयाँको कारोबार गरेको थियो।
बलेटक्सारले ५५९.५० क्विन्टलमा ४५ लाख ४ हजार, अर्खबाङ्गले ४२६.६० क्विन्टलमा ३० लाख २९ हजार र बाँझकटेरीले ५११.७५ क्विन्टलमा ३६ लाख १६ हजार रुपैयाँ बराबरको खाद्यान्न बिक्री गरेको विवरणमा उल्लेख छ।
स्थानीय तहको सन्तुष्टि
मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले विकट बस्तीहरूमा वर्षैभरि गुणस्तरीय खाद्यान्न सहज रूपमा उपलब्ध हुँदा स्थानीयवासी सन्तुष्ट रहेको बताए।
त्यस्तै, शाखा प्रमुख लक्ष्मी भण्डारीका अनुसार खाद्य डिपोहरूको उद्देश्य खाद्य सुरक्षाको सुनिश्चितता, अभावका कारण उत्पन्न जोखिमको न्यूनीकरण र महामारी वा प्रकोपका बेला आपूर्तिमा समस्या नहोस् भन्ने रहेको छ।
