२०८३ श्रावण ११ गते सोमवार

images

तातोपानी भन्सार नाका पुनः सुचारु, दशैंका लागि चीनबाट सामान आयात सुरु

तातोपानी भन्सार नाका पुनः सुचारु, दशैंका लागि चीनबाट सामान आयात सुरु

सहर्ष न्युज
मंगलवार, आश्विन ७ २०८२
सहर्ष न्युज
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौं : दशैं नजिकिँदै गर्दा चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार पुनः सुचारु भएको छ। लामो समयको अवरोधपछि सञ्चालनमा आएको कोदारी राजमार्ग हुँदै दशैंका लागि आवश्यक सामग्री बोकेका कन्टेनरहरू अब तातोपानी भन्सार हुँदै आवत–जावत गर्न थालेका छन्।

    तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालका अनुसार, चीनतर्फबाट सामान लोड भएका कन्टेनरहरू तातोपानी भन्सार यार्डमा प्रवेश गरिरहेका छन् भने निर्यात सामग्री बोकेर चीनतर्फ फर्किने कन्टेनरहरूको आवागमन पनि सुरु भइसकेको छ।

    एक महिनापछि सडक सञ्चालनमा

    भोटेकोशी गाउँपालिका–२ अन्तर्गत कोदारी, इर्कु, घट्टेखोला लगायतका पाँच स्थानमा गएको पहिरोका कारण तातोपानी–बाह्रबिसे सडक एक महिनासम्म पूर्णरूपमा अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चरिकोटले आइतबारसम्म पहिरो पन्छाउने काम सकाएर सोमबारदेखि ग्राभेल गरेर सवारी सञ्चालनमा ल्याएको हो।

    उक्त कार्यमा इलेक्ट्रो हाइड्रोको सहयोगमा ३ वटा एस्काभेटर, ३ वटा लोडर, १३ वटा टिपर र ४० जना मजदुर परिचालन गरिएको थियो।

    दीर्घकालीन समाधानतर्फ पहल

    सडक बारम्बार अवरुद्ध भएपछि इर्कु क्षेत्रका करिब २०० घरधुरी पहिरोको उच्च जोखिममा परेका थिए। स्थानीयले दीर्घकालीन समाधानबिना पहिरो नहटाउन माग गरेपछि केही समय काम रोकिएको थियो। अन्तरिम चुनावी सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले सरोकारवालाको बैठक बोलाई समस्याको समाधानका लागि पहल थालेका थिए।

    असोज ३ गते तातोपानी भन्सार कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा स्थानीयको माग सम्बोधन गर्ने र स्थानीयले पहिरो हटाउन अवरोध नगर्ने सहमति भएको थियो। सोही बैठकले कात्तिक मसान्तसम्म ठेक्का प्रक्रिया अगाडि बढाउनेअसार मसान्तभित्र काम सुरु गर्ने योजना बनाएको छ।

    उच्चस्तरीय टोलीको अनुगमन

    सडक सञ्चालनको अवस्थाबारे जानकारी लिन मन्त्री घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी लगायतको उच्चस्तरीय टोली सोमबार कोदारी पुगेको थियो। टोलीले इर्कु क्षेत्रमा पहिरोबाट प्रभावित स्थानीयसँग छलफल गर्दै बस्तीको संरक्षण, सडकको दीर्घकालीन सञ्चालनप्राविधिक उपायहरूबारे समेत चर्चा गरेको छ।

    तातोपानी नाका सञ्चालनमा आएसँगै दशैंका लागि आवश्यक सामग्रीको आयात सहज भएको छ भने चीन–नेपाल व्यापार पुनः सक्रिय बन्ने आशा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend