२०८३ भाद्र २७ गते शनिवार

images

दसैँ लक्षित हवाई टिकट बुकिङ तीव्र, दुर्गम गन्तव्यका टिकट सकिन थाले

दसैँ लक्षित हवाई टिकट बुकिङ तीव्र, दुर्गम गन्तव्यका टिकट सकिन थाले

सहर्ष न्युज
शुक्रवार, भाद्र १३ २०८२
सहर्ष न्युज
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौं : नेपालीहरुको महान चाड दसैँ नजिकिँदै जाँदा देशभर आन्तरिक हवाई टिकटको माग तीव्र रूपमा बढ्दै गएको छ। विशेषतः काठमाडौं छाडेर प्रदेश र दुर्गम गन्तव्य जाने यात्रुहरूको चाप बढेसँगै टिकट बुकिङ दर चुलिँदै गएको हो।

    वायुसेवा कम्पनीहरूका अनुसार अहिले झन्डै ४० प्रतिशत हवाई टिकट बुक भइसकेका छन् भने दुर्गम गन्तव्यतर्फका अधिकांश टिकट बिक्री भइसकेका छन्। सुगम गन्तव्यतर्फ भने टिकट दर झन्डै दोब्बर सम्म पुगिसकेको छ।

    दुर्गम गन्तव्यतर्फको टिकट पाउन मुस्किल

    बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार, “दसैँ आउन अझै एक महिना बाँकी हुँदा पनि काठमाडौंबाट सुगम गन्तव्यका झन्डै ४० प्रतिशत उडानको टिकट बुक भइसकेको छ।”

    विशेषगरी तुम्लिङटार, लुक्ला, सिमकोट, डोल्पा, भोजपुर, खानीडाँडा लगायत दुर्गम गन्तव्यतर्फको टिकट महँगो शुल्क तिरेर पनि पाउन कठिन भइसकेको छ।

    सुगम गन्तव्यमा पनि भाडा चुलिँदै

    वायुसेवा कम्पनीहरूले सुगम क्षेत्रतर्फका गन्तव्य जस्तै भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज र धनगढीतर्फ थप जहाज परिचालन गरिए पनि हवाई टिकट महँगो हुँदै गएको छ।

    श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरका अनुसार, “दसैँका लागि अहिले करिब ५० प्रतिशत यात्रुले टिकट बुक वा होल्ड गरिसकेका छन्। चाडबाडको समयमा यात्रुको चाप अत्यधिक हुने भएकाले सस्तो टिकट छिट्टै सकिन्छ र महँगो टिकट मात्र बाँकी रहन्छ।”

    उहाँले चाडपर्व बाहेक अन्य समयमा वायुसेवा कम्पनीले प्रवर्धनात्मक दरमा टिकट दिने भए पनि दसैँको समयमा भने माग बढी हुने भएकाले टिकट दर बढ्ने स्पष्ट पार्नुभयो।

    काठमाडौँ फर्किँदा रित्तो जहाज, भाडा झन् महँगो

    सामान्य समयमा यात्रु दुवैतर्फ समान रहने भए पनि दसैँका बेला काठमाडौँबाट बाहिर जानेको संख्या बढी हुने र फर्किँदा जहाज रित्तो आउनुपर्ने अवस्थाले पनि भाडा महँगो हुने वायुसेवा कम्पनीहरूको भनाइ छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हवाई टिकटको मूल्य वायुसेवा कम्पनीको सञ्चालन लागत, इन्धन मूल्य, प्राविधिक खर्च, प्रशासनिक लागत लगायतका आधारमा निर्धारण हुने गर्छ।

    भाडा सीमा तोकिए पनि बढी लिने पाइँदैन

    सरकारले २०७३ सालदेखि लागू गरेको न्यूनतम र अधिकतम हवाई भाडा सीमाभित्र रहेर वायुसेवा कम्पनीहरूले टिकट दर निर्धारण गर्न पाउने व्यवस्था रहेको भए पनि तोकेकोभन्दा बढी शुल्क लिएको पाइएमा कारवाही हुने उहाँले स्पष्ट पार्नुभयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend