भारत : कर्नाटकको शिवमोगा र बिदर जिल्लाका दुई परीक्षा केन्द्रमा साझा प्रवेश परीक्षा (सिइटी) मा जनै लगाएका विद्यार्थीलाई प्रवेशमा रोक लगाइएपछि तनाव उत्पन्न भएको छ। यो घटनाले धार्मिक आस्थामाथि प्रश्न उठाउँदै व्यापक विवाद निम्त्याएको छ।
शिवमोगाको आदिचुंचनगिरी स्वतन्त्र पीयू कलेजमा अप्रिल १६ मा भएको सिइटी परीक्षामा तीन जना दोस्रो वर्षका पीयू विद्यार्थीलाई सुरक्षा गार्डले जनै हटाउन भने। एक विद्यार्थीले जनै हटाउन अस्वीकार गरेपछि उनलाई परीक्षा हलमा प्रवेश गर्न दिइएन। बाँकी दुई जनाले जनै हटाएर परीक्षा दिए।
बिदरको साई स्पूर्थी पीयू कलेजमा अप्रिल १७ मा गणितको परीक्षामा विद्यार्थी सुचिव्रत कुलकर्णीलाई जनै लगाएकै कारण प्रवेश रोकियो। उनले ४५ मिनेटसम्म कर्मचारीसँग अनुरोध गरे, तर अनुमति नपाएपछि परीक्षा नदिई घर फर्कनुपर्यो। सुचिव्रतले भने, ‘मलाई गणितको परीक्षा दिन रोकियो। मेरो इन्जिनियर बन्ने सपना चकनाचुर भएको छ। म सरकारसँग पुन: परीक्षा वा सरकारी कलेजमा सिटको माग गर्छु।’
कर्नाटक ब्राह्मण महासभाले यो घटनालाई ‘ब्राह्मण र हिन्दु विरोधी’ भन्दै अप्रिल १८ मा शिवमोगाको डोड्डापेट प्रहरी चौकीमा एफआईआर दर्ता गरेको छ। एफआईआरमा परीक्षा केन्द्रका कर्मचारीले विद्यार्थीको जनै काटेर फोहोरमा फालेको आरोप छ। बिदरमा अखिल कर्नाटक ब्राह्मण महासभा र अन्य हिन्दु संगठनहरूले अप्रिल १९ मा विरोध प्रदर्शन गरे।
कर्नाटकका शिक्षामन्त्री डा. एमसी सुधाकरले घटनालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘हामी सबै धर्म र आस्थाको सम्मान गर्छौं। कुनै पनि नियममा जनै हटाउन भनिएको छैन। यस्ता घटना सह्य हुँदैन।’ तर, शिवमोगा जिल्लाका उपायुक्त गुरुदत्त हेगडेले सिसीटिभी फुटेजमा जनै काटिएको कुनै प्रमाण नभेटिएको दाबी गरे।
उनले रक्षाडोरी (नाडीमा लगाइने धागो) हटाउन भनेको स्वीकार गरे। कर्नाटक परीक्षा प्राधिकरणका कार्यकारी निर्देशक एच. प्रसन्नाले सिइटी–२०२५ को ड्रेस कोडमा धातुका गहना (मंगलसूत्र र औंठी बाहेक) निषेध भए पनि जनैजस्ता धार्मिक धागोबारे कुनै नियम नभएको स्पष्ट पारे। बिदरको साई स्पूर्थी कलेजका प्रिन्सिपल र एक क्लर्कलाई अप्रिल १९ मा बर्खास्त गरिएको छ। शिवमोगामा दुई सुरक्षा गार्डलाई निलम्बन गरिएको छ, र उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
कर्नाटकको बाल अधिकार संरक्षण निकायले बिदरको घटनामा स्वत: संज्ञान लिँदै सुचिव्रतलाई पुन: परीक्षा दिन अनुमति दिन सिफारिस गरेको छ। विपक्षी दल भाजपाले यो घटनालाई ‘हिन्दु विरोधी’ भन्दै मुख्यमन्त्री सिद्धारमैया र काँग्रेस सरकारको कडा आलोचना गरेको छ। एजेन्सी
