काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) विस्तारै चौतर्फी घेराबन्दीमा पर्न थालेका छन् । प्राप्त समाचार अनुसार तलबको विषयलाई लिएर आफ्नो कर्मचारीले घेर्न लागेका हुन् । काठमाडौं महानगरका ४००० बढी कर्मचारीले विगत तीन महिनादेखि तलब खाएका छैनन् ।
बालेन विरुद्ध घेराबन्दी कार्यक्रमको नेतृत्व स्थानीय तह कर्मचारी संघले गर्ने भएको छ । संघले बालेन विरुद्धको कार्यक्रम गर्ने अन्तिम तयारी गरेको छ ।
स्थानीय तहका कर्मचारीहरुका अनुसार अनुसार काठमाडौं महानगरका कर्मचारीहरुले तलब नपाउनेका मूख्य कारणमा बालेनलाई देखाएका छन् ।
बालेनले आफ्नो हठ त्याग्न नसक्दा समस्या जटिल भएको भन्दै कर्मचारीहरुले चेतावनी समेत दिएका छन् ।
प्रशासनिक नेतृत्वविहीन हुँदा कर्मचारीले तलब नपाएको, विकासे काम ठप्प भएकोप्रति स्थानीय तह कर्मचारी संघले आपत्ति जनाएको छ ।
केन्द्रीय अध्यक्ष नारायणप्रसाद शर्माले एक विज्ञप्ति निकाल्दै तलब अभावमा झण्डै ४ हजार पेशाकर्मीको दैनिकी समस्या पर्दा पनि महानगर नेतृत्व जिम्मेवार र गम्भीर नभएको टिप्पणी गरिएको छ ।
मेयर बालेनको गतिविधि लक्षित गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासको लागि पहल गनुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छृंखल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरी थप समस्याको सृजना गर्न उद्दत देखिनुले समस्या हल गर्नतर्फ हैन, आ–आफ्नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ ।’
स्थानीय तहको प्रशासनिक र राजनीतिक नेतृत्व एकै सिक्काका दुई पाटा भएको स्मरण गराउँदै संघले एक(अर्का बीच विश्वास एवं सहयोग भएमात्र सेवा प्रवाहमा गतिशीलता तथा प्रभावकारिता हासिल गर्न सकिने जनाएको छ ।
महानगरमा विधि र प्रक्रियाबाट नभई व्यक्तिको मौखिक आदेश, निर्देशनबाट प्रशासन संयन्त्र संचालन गर्न खोज्दा समस्या आएको ठहरसहित संघले भनेको छ, ‘अनधिकृत व्यक्तिहरूबाट कर्मचारीहरूलाई त्रास एवं भयको वातावरण सृजना गरी कानूनसम्मत ढंगले कार्य गर्न पाउने अधिकारलाई कुण्ठित गराई जबर्जस्त आदेश लाद्ने पद्दतिले काठमाडौं महानगरपालिकामा दिनानुदिन झनै जरा गाड्दै गएको छ ।’
पारिश्रमिकविहीनताको कर्मचारीको समस्या एक हप्ताभित्र समाधान नगरे कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसहित संघले र उक्त परिस्थितिबाट सृजित परिणामको जिम्मेवार महानगरको नेतृत्व हुनुपर्ने चेतावनी दिएको छ ।
यसैबीच नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्न माग गरेको छ। राजनीति दलका केही व्यक्ति विशेष र बालेन बीच टिक्का टिप्पणी हुदै आएकोमा यो टकराव अन्ततः संस्थागत हुन थालेको छ ।
यसरी हेर्दा बालेन एमाले सम्बद्ध युवा संघका अधिकांश सदस्यको निशानामा पर्ने छन् । यो घेराबन्दीबाट उम्कन अब बालेनलाई ठूलै सकस हुने विश्लेषकहरुले अनुमान लगाउन थालेका छन् ।
मेयर बालेनले एक हप्तामा कर्मचारीले तलब नपाए ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय युवा संघ नेपाल आक्रमक बन्दै गएको छ । संघको काठमाडौं महानगर कमीटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको हो ।
‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिकसञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभियव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन सचेत गराउँछौ’, विज्ञप्तिमा भनिएको छ।
अध्यक्ष दिपेश सुधाकारले एक विज्ञप्ति जारी गर्दै आफ्नो पदीय जिम्मेवारी भुलेर पब र कल्बहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिक संजालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन पनि चेतावनी दिइएको छ।
उता बहुमत वडाअध्यक्षहरु समेतले कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरूले हस्ताक्षर गरी तत्कालै कार्यपालिका बैठक वोलाउन माग गरेका हुन् । यसरी माग गर्नेमा कार्यपालिका सदस्यहरु पनि रहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारवाही प्रक्रियाको मागसँगै अन्य एजेन्डा समेत कार्यपालिका बैठकमा उठाउने तयारी वडाअध्यक्षहरुको छ । बेकामे बनेको काठमाडौं टावरको नक्सा पास तथा निर्माण सम्बन्धमा गठित छानविन समितिमा लागेको खर्च समेत असूल उपरका विषयमा कुरा उठाइने एक वडाअध्यक्षले जानकारी दिए ।
त्यस्तै महानगरवासीले नरुचाएको ‘वाल पेन्टिङ्ग’, दरबारमार्ग सडकपेटीमा विछ्याइएको मार्वल काण्ड, एम्बुलेन्समा भएको भ्रष्टाचारजस्ता थुप्रै विषयमा कडाईका साथ कुरा उठान हुने भएका छन् ।
