सुष्मा सापकोटा, गोरखा । गोरखाको अजिरकोट गाउँपालिकालाई ७०.०६ अंक प्राप्त गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशित गरेको अन्तिम कार्यसम्पादन मूल्यांकन अनुसार सो गाउँपालिकाले उक्त नम्बर प्राप्त गरेको हो । बर्षभरी गरेको कार्य मूल्यांकनका आधारमा अजिरकोटले उक्त नम्बर प्राप्त गरेको बुझिएको छ । जुन नम्बर अन्य गाउँपालिकाको नजरमा उत्कृष्टमा पर्छ ।
नेपालमै पहिलोपटक आधारभुत तहको पाठ्यपुस्तकमा माओवादी जनयुद्धसम्बन्धी पाठ्यसामाग्री समावेश गरेर चर्चामा आएको अजिरकोट गाउँपालिका विभिन्न कार्यसम्पादन मूल्यांकनमा उत्कृष्टमा पर्दै आएको छ ।
यसअघि गरिएको गण्डकीस्तरीय स्वास्थ्य कार्यक्रममा अजिरकोट गाउँपालिका तेस्रो स्थानमा पर्न सफल भएको थियो । त्यसैगरी गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालय, गोरखाले जिल्लाको स्थानिय निकायद्वारा सञ्चालित २०८०÷०८१ को कार्यसम्पादन मूल्यांकनमा अजिरकोट गाउँपालिकाले प्रथम हुन सफल भएको थियो । यसरी यो गाउँपालिका गोरखाकै अग्रणीमा पर्दछ ।
‘दिगो विकास हाम्रो सोच, सुन्दर शान्त समृद्ध अजिरकोट’ को लक्ष्य हाँसिल गर्न ‘हाम्रो अजिरकोट राम्रो अजिरकोट’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम ल्याएर सो गाउँपालिकाले काम गर्दै आएको छ ।
विकास निर्माणमा स्थानीय शिप र प्रविधिको प्रयोग गर्दै सार्वजनिक, निजी र सहकारीको साझेदारीको नीति अवलम्बन गर्ने, पर्यटन प्रवद्र्धनका लागि संघ, प्रदेश र सम्बद्ध निकायसँगको समन्वय, सकहार्य र सहलगानीलाई प्राथमिकता दिइ अजिरकोटलाई पर्यटकीय गन्तब्यको रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा समावेश छ ।
व्यवसाय दर्ता वर्ष, अजिरकोटको भूगोल सुहाउँदो कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रमलाई प्राथमिकता, रैथाने कृषि बीज भण्डार तथा इलेक्ट्रिक शित भण्डार स्थापनाको लागि पहल, कृषि तथा पशुपालनको क्षेत्रमा कम्तीमा ६० प्रतिशत अनुदानको व्यबस्था गर्ने पालिकाको नीति तथा कार्यक्रममा समावेश गर्दै आएको छ ।
अजिरकोटको चिनारीका रूपमा रहेको नागेपोखरी, दुधपोखरी तथा नारदपोखरी पदमार्ग निर्माणको कार्यलाई निरन्तरता, किसानहरुलाई घरदैलोमै कृषि र पशुपालन सम्बन्धि सेवाप्रवाह, कृषि फर्म तथा कृषकद्वारा पशु तथा बाली बिमा गर्दा लाग्ने प्रिमियममा ५० प्रतिशत अनुदान, हिमालबाट बगेको शुद्ध खानेपानी बोटलिङ गरी राष्ट्रिय एवं अन्तराष्ट्रिय बजारमा निर्यात गर्न अवश्यक नीति अख्तियार गरी संरचना निर्माणको सुरुवात गरिने महवत्वकाक्षी योजनासमेत समावेश भएको छ ।
गाउँपालिकाभित्र रहेका प्राकृतिक स्रोत र साधनको उपयोग गरी निर्माण भएका र निर्माण हुने जलविद्युत आयोजनाहरुबाट स्थानीय सडक, सिंचाई कुलो, वन लगायतको क्षेत्रमा पुगेको र पुग्न सक्ने अतिक्रमण रोक्न आवश्यक नीति लिइनेछ । पछिल्लो समय अजिरकोट र लम्जुङको दुधपोखरी गाउँपालिकाको सिमानामा रहेको चेपेमा यस्ता खालका जलविद्युत आयोजना निर्माणको क्रममा छ ।
अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले आफ्नो कार्यकालमै अजिरकोटलाई उत्कृष्ट गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे अनुरुप कार्य गर्दै आएका छन् । उनले गाउँपालिकाको विकासका लागि आफूले सक्दो प्रयास गरिरहेको बताए । सहर्षन्जयूज डटकमसँग कुरा गर्दै उनेले भने– ‘अजिरकोटको विकास तपाईँ, हामी सबै मिलेर गर्ने हो । अरू नेताले आएर यहाँ विकास गर्ने छैनन् । हाम्रो नेतृत्वमा भएको प्रगति आफैँमा उदाहरणीय छ ।’ गाउँपालिकामा चलिरहेका र आगामी दिनमा पूरा गर्ने विभिन्न विकास योजनाहरूबारे चर्चा गर्दै उनले विकासका प्राथमिकतामा सडक, स्वास्थ्य, शिक्षा, र सामाजिक समृद्धिलाई राखेको उल्लेख गरे । कुराकानीका क्रममा उनले सडकको गुणस्तर र समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष देवकोटाले भच्चेक आधारभूत अस्पतालमा आगामी फागुनसम्ममा अप्रेसन सेवासमेत उपलब्ध गराउने घोषणा गरे । नेपाल सरकारले देशभरका स्थानीय तहमा जनसङ्ख्या, क्षमता, र आवश्यकता अनुसार अस्पताल निर्माणको योजना अघि बढाएको भए पनि अजिरकोटमा समयमै कार्यान्वयन भएको छ । शिक्षाको पहुँच र गुणस्तर सुधार्न नयाँ कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउँदै उनले युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम र अन्य गतिविधिहरूको योजना बनाइएको भन्दै भने ‘हामी युवालाई सशक्त बनाएर आत्मनिर्भर बनाउने छौँ ।’
अजिरकोटको विकासका लागि सामुदायिक सहभागितालाई प्रोत्साहन गर्ने योजनाबारे पनि देवकोटाले जानकारी दिए। उनले जनतासँग निरन्तर संवाद गर्दै विकासका प्राथमिकता निर्धारण गरिने बताए ।
