काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तराई/मधेश हुलाकी राजमार्गकेन्द्रित एकमहिने अभियान तत्कालका लागि स्थगित गरेको छ । गत फागुन १२ गतेदेखि झापाको कचनकबलबाट सुरु भएको अभियान बारा जिल्ला पुगेर स्थगित गरिएको हो ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले तराईरमधेशमा मात्रै निरन्तर केन्द्रित हुँदा संसद्मा माओवादीको प्रस्तुति कमजोर भएकाले तत्काल स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “झापाको कचनकबलबाट सुरु भएको अभियान तत्काल स्थगित भएको छ । राष्ट्रिय राजनीतिसँगै संसद्मा प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने भएकाले स्थगित गरेका छौँ । भोलि पदाधिकारी बैठक बसेर कहिलेबाट निरन्तर गर्ने निर्णय हुने छ ।” पछिल्लो समय राजावादी शक्तिले सडकमा जारी राखेको प्रदर्शनका विषयमा समेत समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको शर्माले बताउनुभयो तर राजावादी शक्तिकै कारण भने अभियान स्थगित नगरेको उहाँले बताउनुभयो ।
“तराईरमधेशमा मात्रै निरन्तर एक महिनासम्म लगातार केन्द्रित हुँदा संसद्सहित राष्ट्रिय राजनीतिबाट माओवादी छुटेको हो कि भन्ने जस्तो अनुभूति भयो । त्यसो हुँदा बिचमा ब्रेक गरेर अभियान सुरु गर्दा राम्रो हुन्छ भन्ने भएको छ,” उहाँले भन्नुभयो । माओवादी नेताहरूले हुलाकी राजमार्गकेन्द्रित अभियान प्रभावकारी भएको दाबी गरेका छन् । माओवादीले फागुन १२ गतेदेखि झापाको कचनकबलबाट सुरु गरेर चैत ७ गते कञ्चनपुरमा समापन गर्ने निर्णय गरेको थियो ।
माओवादीको पहलमा गणतन्त्रवादीहरूले पनि प्रदर्शन गर्ने
यसैबीच काठमाडौंमा गणतन्त्रवादीहरूको प्रदर्शन गर्ने तयारी भएको छ । यसका लागि आन्तरिक छलफल चलिरहेको माओवादी नेता हिमाल शर्माले बताए ।
‘ठूला दलहरूको संलग्नतामा गणतन्त्र पक्षधरहरूको प्रदर्शनको गर्ने तयारी छ । अरु दलहरू तयार हुन्छन् नभए माओवादी एक्लैले गर्छ’, शर्माले अनलाइनखबरसँग भने ।
प्रदर्शनको समय भने तय भएको छैन । चैत पहिलो साताभित्र काठमाडौंमा प्रदर्शन गर्ने तयारी रहेको नेताहरू बताउँछन् ।
राजावादीहरूको गतिविधि बढेको भन्दै माओवादीका शीर्ष नेताहरू ‘तराई–मधेश जागरण अभियान’ स्थगित गरेर काठमाडौं केन्द्रित भएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार काठमाडौं केन्द्रित भएका शीर्ष नेताहरू अनौपचारिक संवादमा छन् ।
राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीति तय गर्नमा नेताहरू जुटेका हुन् ।
अनौपचारिक छलफलपछि औपचारिक छलफल राखेर निचोडमा पुगिने नेताहरू बताउँछन् ।
