२०८३ कार्तिक १४ गते शुक्रवार

images

देशभर १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफल अर्थात ९२.४ प्रतिशत रोपाइँ सम्पन्न

देशभर १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफल अर्थात ९२.४ प्रतिशत रोपाइँ सम्पन्न

सहर्ष न्युज
मंगलवार, श्रावण १५ २०८१
सहर्ष न्युज
मंगलवार, श्रावण १५ २०८१
  • सहर्ष न्युज, काठमाडौं । देशभर साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । मन्त्रालयले यस वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

    मन्त्रालयका अनुसार सात प्रदेशमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा एक लाख ७४ हजार ५७६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये एक लाख ७३ हजार ७९९ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ ।

    सबैभन्दा कम रोपाइँ भएको कोशी प्रदेशको कुल खेतीयोग्य जमिन दुई लाख ७६ हजार ३८६ हेक्टरमध्ये दुई लाख ५० हजार ६२४ हेक्टर अर्थात् ९०.७ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यसै अवधिसम्म कोशीमा ८३.६ प्रतिशत मात्र रोपाइँ भएको थियो । विगतका वर्षहरूमा सबैभन्दा ढिलो रोपाइँ हुने मधेश प्रदेशमा यस पटक अन्य प्रदेशकै हाराहारीमा रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार तीन लाख ५२ हजार ४४३ हेक्टर अर्थात् ९२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । जब कि गत वर्ष यतिबेला त्यहाँ ५८.८ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

    बागमती प्रदेशमा एक लाख १२ हजार २७३ हेक्टर क्षेत्रफल रोपाइँ हुने भनिएकोमध्ये ९०.८ प्रतिशत अर्थात् एक लाख एक हजार ९९४ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ८८ हजार २५२ हेक्टर अर्थात् ९१.९ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ८४ हजार ४८५ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । कर्णाली प्रदेशको ४१ हजार ९०४ हेक्टर जमिनमध्ये ९६.९ प्रतिशतमा रोपाइँ सकिएको कृषि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

    समयमा मनसुन सुरु भएको र नियमित पानी परेका कारण यस पटक धान रोपाइँ चाँडै भएको प्रवक्ता केसीले बताउनुभयो । किसानलाई सिँचाइ, मल र बिउको समस्या नहुँदा यस पटक धान रोपाइँमा वृद्धि भएको उहाँले बताउनुभयो । “यस पटक धान उत्पादनमा पनि वृद्धि हुने अनुमान गरिएको छ,” उहाँले भन्नुभयो । गत वर्ष ५७ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यस पटक ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य मन्त्रालयको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend