२०८३ भाद्र २७ गते शनिवार

images
  • कृषि
  • धान उत्पादन चार प्रतिशतले बढ्यो, यसबर्ष...

धान उत्पादन चार प्रतिशतले बढ्यो, यसबर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन

धान उत्पादन चार प्रतिशतले बढ्यो, यसबर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन

सहर्ष न्युज
शनिवार, पौष २० २०८१
सहर्ष न्युज
शनिवार, पौष २० २०८१
  • काठमाडौँ । यस वर्ष मुुलुकभर धानको उत्पादन चार प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालुु आर्थिक वर्ष २०८१/८२ मा धानको उत्पादन ४.०४ प्रतिशतले बढेर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको छ । गत आव २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो ।  

    धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले धानको कुल उत्पादन बढेको मन्त्रालयले जनाएको छ । यस वर्ष बर्खे र चैते गरी १४ लाख २० हजार ६३६ हेक्टरमा धान रोपाइँ भएको थियो, जुन गत वर्षभन्दा १.२८ प्रतिशतले कमी हो । गत वर्ष १४ लाख ३८ हजार ९८९ हेक्टरमा धान रोपिएको थियो । 

    यस वर्ष धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. मतिना जोशी वैद्यले रासायनिक मल, उन्नत जातको बिउ र समयमा वर्षा हुँदा धान उत्पादन बढेको जानकारी दिनुभयो । 

    धानको औसत मूल्य प्रतिकिलो ३२ रुपियाँका दरले हिसाब गर्दा यस वर्ष एक खर्ब ९० अर्ब ५७ करोड ५२ लाख ३२ हजार रुपियाँ बराबरको धान उत्पादन भएको छ । चालु आवका लागि सरकारले मोटा धान प्रतिक्टिन्टल तीन हजार ४१० रुपियाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपियाँ ६२ पैसा निर्धारण गरेको छ । यस वर्ष बाढीपहिरोका कारण केही प्रदेशमा धानको उत्पादन घटे पनि केही प्रदेशमा उत्पादन बढ्दा धानको राष्ट्रिय उत्पादन बढेको उहाँको भनाइ छ । 

    मन्त्रालयका अनुसार यस वर्ष कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धानको उत्पादन बढेको र बागमती, गण्डकी र कर्णाली प्रदेशमा घटेको छ । रुकुमपश्चिममा धान लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कमी रहेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको हो । यसै गरी नवलपरासीपूर्व केही भागमा बर्खे धानको बाला नलाग्ने समस्या देखा परी उत्पादनमा कमी आउँदा र लमजुङ जिल्लामा धान लगाइएको क्षेत्रफल परिमार्जन हुँदा कुल धान भित्र्याइएको क्षेत्रफलमा कमी आई उत्पादनमा कमी हुन आएको छ ।  

    मन्त्रालयका अनुसार यस वर्ष सबैभन्दा धेरै मधेश प्रदेशमा तीन लाख ७४ हजार ११७ हेक्टर क्षेत्रफलमा १४ लाख ८० हजार ८३० मेट्रिक टन धान उत्पादन भएको छ । कोशी प्रदेशमा तीन लाख २९ हजार २१२ हेक्टर क्षेत्रफलमा १४ लाख ६६ हजार ५१८ मेट्रिक टन धान उत्पादन भएको छ । 

    यस्तै बागमती प्रदेशमा एक लाख २५ हजार १५७ हेक्टर क्षेत्रफलमा चार लाख ९८ हजार ६६२ मेट्रिक टन धान उत्पादन भएको छ । गण्डकी प्रदेशमा ९७ हजार ९५९ हेक्टर क्षेत्रफलमा तीन लाख ७९ हजार ३२ मेट्रिक टन धान उत्पादन भएको छ । लुम्बिनी प्रदेशमा दुुई लाख ९९ हजार ७६९ हेक्टर क्षेत्रफलमा १३ लाख ६४ हजार ३१ मेट्रिक टन धान उत्पादन भएको छ ।  

    यस्तै कर्णाली प्रदेशमा ३९ हजार ७६३ हेक्टर क्षेत्रफलमा एक लाख ३० हजार १९१ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा एक लाख ५४ हजार ६६० हेक्टर क्षेत्रफलमा छ लाख ३६ हजार २१२ मेट्रिक टन धान उत्पादन भएको छ ।

    मन्त्रालयका अनुसार गत असोज महिनामा आएको बाढीपहिरोका कारण २० जिल्लाको ५८ हजार ४७६ हेक्टरमा लगाएको तीन अर्ब ५० करोड रुपियाँ बराबरको धानबाली नष्ट भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend