२०८३ भाद्र २८ गते आइतवार

images

हराए चौतारा र देउराली, मासिए आहाल अनि पोखरी

हराए चौतारा र देउराली, मासिए आहाल अनि पोखरी

सहर्ष न्युज
शुक्रवार, पौष १९ २०८१
सहर्ष न्युज
शुक्रवार, पौष १९ २०८१
  • रामेछाप । २०६४ सालको संविधानसभा निर्वाचनपछि रामेछापको ग्रामीण क्षेत्रमा सडक पूर्वाधार विकासले तीव्रता पायो । यो डेढ दशकमा गाउँ गाउँमा मात्रै होइन हरेक गाउँका घर घरमा सडक खनिए । सडक पूर्वाधारको विकासपछि गाउँ गाउँमा सहज रूपमा यातायातका साधनहरू पुगे । अहिले गाउँका केही सडकहरू कालोपत्रे पनि भइरहेका छन् ।

    सडक पूर्वाधारको विकाससँगै गाउँका नागरिकलाई सहर र गाउँ गर्न सहजतासँगै आवश्यक समानहरू ढुवानीमा पनि धेरै सजिलो भएको छ । तर सडक पूर्वाधार विकासपछिको यातायात सेवा र बजार विस्तारसँगै गाउँ घरमा पुर्खाले बनाएका ऐतिहासिक चौतारी, देउराली, आहाल तथा पोखरीहरू भने मासिएका छन् ।

    भरियाले भारी बिसाउने र थकाइ मार्ने चौतारी, सतीप्रथासँग जोडिएको बाटो हिँड्ने बटुवाहरूले भन्ज्याङ परेका ठाउँमा देवदेवीलाई सम्झन ढुङ्गा चढाउने देउराली र वन्यजन्तु अनि गाईबस्तुलाई पानी खुवाउने आहालहरू मासिएका छन् । अहिले जिल्लाको दुर्गम मानिने ठाउँहरूमा समेत चौतारीहरू केही भेटिए पनि देउराली तथा आहालहरू भने भेटिँदैनन् ।

    गाउँमा मोटरबाटो आएपछि गाउँको पहिचान दिने चौतारी, देउराली र आहाल तथा पोखरीहरू मासिएको मन्थली नगरपालिका–९ पुरानागाउँकी ७९ वर्षीय धनमाया श्रेष्ठ  बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘पहिला पहिला भरियाले भारी बिसाउने, थकाइ मार्ने र सुखदुःखका कुरा गर्ने ठाउँ ठाउँमा चौतारीहरू हुन्थे । बाटो हिँड्ने बटुवाले देवी देवतालाई सम्झेर ढुङ्गा, स्याउलाको मुन्टा र फूल चढाउने देउरालीहरू हुन्थे । अब त मोटर बाटो आएपछि चौतारी, देउराली हराएर गए । हामीले नसोचेको ठाउँमा मोटरबाटो बन्यो । मान्छेलाई घर घरमै बस सेवा पुग्यो । मान्छेहरू पैदल हिँड्न छाडे ।’’

    गाउँ गाउँमा मोटर बाटो आएपछि पुर्खाहरूले बनाएका आहाल र पोखरीहरू पनि मासिएको उहाँले बताउनुभयो । ‘‘ पुर्खाहरूले ठाउँ ठाउँमा ठुला ठुला आहाल तथा पोखरीहरू बनाएका थिए । त्यो आहालमा वर्षामा परेको पानी जम्मा हुन्थ्यो । यस्ता आहालको पानी गाईबस्तु र वन्यजन्तुले खान्थे । त्यो आहालको आसपास रसिलो पनि हुन्थ्यो । जसका कारण सुख्खा समयमा पनि केही हरियाली देख्न पाइन्थ्यो । अहिले आहाल र पोखरी सबै मासिए ।’’

    रामेछाप नगरपालिका–८ बाबियाखर्कका ९१ वर्षका गोविन्द घिमिरे पनि गाउँका आहाल, पोखरी, देउराली, चौतारी मासिएकोमा दुःखित हुनुहुन्छ । आफ्नो गाउँको नाम नै आहालको नामबाट आहाले टार बसेको सम्झँदै घिमिरेले भन्नुभयो, ‘‘पुर्खाहरूले हरेक धारा पँधेराभन्दा मुनि आहाल र पोखरी बनाएका थिए । वन जङ्गलको बिचमा ठाउँ ठाउँमा आहाल तथा पोखरी बनाएका थिए । अहिले ती सबै मासिए । जसका कारण सुख्खा बढेको छ । जङ्गली जनावरहरूलाई  समेत खडेरीमा पानी खान समस्या भएको छ ।’’

    गाउँमा रहेको आहालको नामबाट आफ्नो गाउँको नाम आहाले टार बसेको भए पनि अहिले त्यो आहाल पुरेर सामुदायिक भवन बनाउने तयारी भएको उहाँका भनाइ छ । पुर्खाले बनाएका यस्ता ऐतिहासिक चिजहरू यसरी मासिँदा दुःख लागेको घिमिरे बताउनुहुन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend